होलीको चीर ठड्याइयो
SamacharDesk | २०७९ फाल्गुण १५, सोमबार
आज बिहान ७ बजेर ४५ बजेको साइतमा वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइयो ।
चीर ठड्याएसँगै राजधानी लगायत मुलुकभर औपचारिक रूपमा होली पर्व सुरु भएको मानिन्छ । धालासिक्व मानन्धर सनाःगू खलःले बाजागाजासहित रंगचंगी ध्वजाले सजाइएको चीर ठड्याइएको हो ।
फाल्गुन शुक्ल अष्टमीका दिन रङ्गीचङ्गी ध्वजापताकाले सिँगारिएको तीन छत्रे होलीको चीर ठड्याइएपछि देशभर फागू पर्व सुरु भएको मानिन्छ ।
चन्द्र मास अन्तर्गत फागुन महिनाको पूर्णिमाको दिन मनाइने होली यही फागुन २२ गते काठमाडौँ उपत्यकालगायत पहाडी भेगमा र २३ गते तराईका विभिन्न जिल्लामा फागु अर्थात होली पर्व मनाइँदै छ ।
आपसमा मैत्री एवम् सद्भावपूर्वक खेलिने यो पर्वमा ख्याली, टप्पा र वसन्त राग गाउँदै नाच्दै अबिर लगाएर शुभकामना आदानप्रदान गरिन्छ । सो अवसरमा उनीहरुले एकअर्कालाई अबिर दलेर फागू पर्व सुरु भएको जनाउ दिएका थिए ।
आजै पशुपतिनाथ, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर परिसरलगायतका स्थानमा पनि रंगीचंगी ध्वजा पतका झुण्ड्याएर फागू पर्व सुरु भएको जनाउ दिने चलन छ ।
Categorized in संस्कृति