arin enterprises

साइकल यात्रीहरुले केदारनाथको जल पशुपतिमा चढाए

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०८० भाद्र ५, मंगलबार

साइकल यात्रा गर्दै काठमाडौंबाट भारतको केदारनाथ पुगेको टोली काठमाडौं फर्की केदारनाथको जल पशुपतिनाथमा चढाएका छन् ।

गत भाद्र २१ गते काठमाडौंको पशुपतिनाथबाट केदारनाथसम्मको साइकल यात्राको लागि निस्केको टोली गत आइतबार काठमाडौं फर्केको हो भने हिजो सोमबार केदारनाथको जल पशुपतिमा चढाइएको हो ।

पशुपतिनाथबाट केदारनाथसम्मको साइकल यात्रा सम्पन्न गरेर फर्केका विकास महर्जनले यात्रा निकै रोमाञ्चक र अविस्मरणीय भएको बताए ।

तापक्रम निकै उच्च रहेको बेलाको यात्राको क्रममा आफुहरुलाई मौसमले पनि निकै साथ दिएको महर्जनले भने ।

‘हेटौंडा, बुटवल, महेन्द्रनगर, नेपालगञ्ज, धनगढी, इन्डियाको गड्डाचौकी लगायतका ठाउँहरुमा तापक्रम ४०–४२ थियो । तर हामी पुग्दा कि पानी परीरहेको हुन्थ्यो अथवा बादल लागेको हुन्थ्यो । मौसमले हामीलाई पुरै साथ दिइरहेको महसूस हुन्थ्यो’ महर्जनले भने ।

वर्षाका कारण बाढि, पहिरो गइरहने समयमा पनि यस्ता प्राकृतिक विपत्ती हेर्नै नपरेको महर्जनले सुनाए ।

‘धेरै ठाउँमा पहिरो गइरहेको थियो । त्यस्तोमा पनि हामी पुग्ने बेला पहिरो पन्छाइसकेको हुन्थ्यो । पशुपतिनाथ, केदारनाथले नै हामीलाई कृपा वर्षा गरिरहनुभएको जस्तो लाग्यो’ महर्जनले आफ्नो अनुभव सुनाए ।

जाँदाखेरी कुनै पनि किसिमको घाउ, चोटपटक नलागेको मात्र होइन, आफ्ना साइकलहरुमा हावा सम्म पनि भर्नु नपरेको टोलीको अनुभव रहेको थियो ।

बरु फर्किँदा भने ठाउँ ठाउँमा पहिरोले बाटो बन्द हुने, गाडी नपाइने खालका समस्याहरु भोग्नुपरेको महर्जन बताउँछन् । साइकलबाट केदारनाथ पुगेको टोली उताबाट भने गाडीबाट काठमाडौं फर्केको थियो ।

यो यात्राको योजना भने दुई वर्ष अघि नै बनेको रहेछ ।

दुई वर्ष अघि साइकलबाटै सुदुरपश्चिमको बडिमालिका माताको दर्शनको लागि निस्किँदा अर्कै एक साथीसँग पशुपतिनाथबाट केदारनाथ यात्राको योजना बनेको महर्जनले बताए । तर पछि योजना बनाउने साथी भने यस यात्रामा जान नपाएको अनि लामा र प्रशान्तसँग कुरा भई तीन जनाको टोली यात्रामा निस्केको पनि उनले बताए ।

समस्त जगतको कल्याणको कामना गर्दै ‘आस्था, विश्वास र भक्ति, सबै धर्मको विश्वास गरौं’ भन्ने सन्देशसहित यात्रा गरेको महर्जनले जानकारी गराए ।

गत श्रावण २१ गते पशुपतिको दर्शन गरी यात्रा सुरु गरेको टोली ११ दिन पछि श्रावण ३१ गते केदारनाथ पुगेको थियो । ११ दिनमा ७२ घण्टा ५ मिनेट साइकलिङको क्रममा एक हजार २३१ किलोमिटर यात्रा गर्दै तीन जनाको टोली केदारनाथ पुगेको थियो ।

Categorized in समाज