आईसीसी वर्ल्डकप ट्रफी अन्तरिक्षमा
SamacharDesk – आकाश राजोपाध्याय | २०८० आषाढ १२, मंगलबार

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आईसीसी मेन्स क्रिकेट वर्ल्ड कप २०२३ को ट्रफी अन्तरिक्षमा पठाएको छ ।
आईसीसीले आईसीसी मेन्स क्रिकेट वर्ल्ड कप २०२३ को ट्रफी विश्व भ्रमणको सुरुवात पृथ्वीबाट १ लाख २० हजार फिट माथिबाट सुरु गरेको हो । परिषद्ले उक्त ट्रफीलाई स्ट्र्याटोस्फियरिक बलुनमा राखेर सोमबार आकाशमा पठाएको थियो ।
हाइ अल्टिट्युडमा उड्न सक्ने क्षमता भएको बलुनलाई स्ट्र्याटोस्फियरिक बलुन भनिन्छ जसलाई पृथ्वीको वायुमण्डलको दोस्रो तह (स्ट्रयाटोस्पियर) मा पठाइने गरिन्छ ।
सेन्ट इन्टु स्पेस नामक कम्पनीले ट्रफीको प्रक्षेपण गरेको हो । उक्त ट्रफीको तस्वीर र भिडिओ फोरके क्यामेराबाट लिइएको परिषद्ले जनाएको छ ।
खेलकुदको इतिहासमा कुनै प्रतिस्पर्धाको उपाधि पृथ्वी बाहिर पठाइएको यो पहिलो पटक हो ।
प्रक्षेपण गरिएको उक्त ट्रफी भारतको अहमदाबादमा रहेको नरेन्द्र मोदी स्टेडियममा अवतरण गराइएको परिषद्ले जनाएको छ ।
Categorized in स्पाेर्ट्स