गाँजा र गन्धक प्रहरी नियन्त्रणमा
SamacharDesk | २०८० आषाढ २२, शुक्रबार

कैलाली जिल्लाको कैलारी गाउँपालिका ३ खोनपुरस्थित सीमा ईलाकाबाट असार २१ गते सशस्त्र प्रहरीले करीव २९ के.जी. ५ सय ग्राम विष्फोटक पदार्थमा प्रयोग हुने गन्धकसहित भारत घर बताउने ४२ वर्षिय शिवा गुप्तालाई नियन्त्रणमा लिएको छ ।
साईकलमा राखेर भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त गन्धकसहित उनलाई प्रस्तावित सीमा सुरक्षा गुल्म खोनपुरले नियन्त्रणमा लिएको हो । चेकजाँचका क्रममा उनले शुरुमा झोलामा आलु, प्याज रहेको भन्दै भाग्ने प्रयास गरेका थिए ।
तर शंकास्पद अवस्थामा देखिएका उनलाई नियन्त्रणमा लिएर जाँच गर्ने क्रममा गन्धक बरामद भएको हो । के प्रयोजनका लागि गन्धक ल्याइएको हो भन्ने पत्ता लागेको छैन ।
नियन्त्रणमा लिइएका गुप्तालाई बरामद गन्धक तथा साईकलसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय हसुलियामा बुझाईएको छ ।
यता बारा जिल्लाको कोल्हवी नगरपालिका ५ स्थित सोनाभारबाट असार २१ गते करीव १ सय ६८ के.जी. गाँजा बरामद भएको छ ।
विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश कोल्हवीले सोही ठाउँ बस्ने जितेन्द्र चौधरीको घरमा लुकाई छिपाई प्लाष्टिकमा प्याक गरेर राखिएको गाँजा बरामद गरेको हो ।
गाँजा आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय कोल्हवीमा बुझाईएको छ । घर धनी जितेन्द्र चौधरी भने फरार रहेका छन् ।
Categorized in अपराध