arin enterprises

भारतको उत्तर प्रदेशमा कार दुर्घटनामा परी ६ नेपालीको मृत्यु

SamacharDesk | २०८० श्रावण २१, आइतबार

भारतका उत्तराखण्डमा पहिरोले १६ जना नेपाली हराइरहेको खबर सेलाउन नपाउँदै भारत उत्तर प्रदेशमा कार दूर्घटनामा ६ जना नेपालीको मृत्यु भएको खबर आएको छ ।

उत्तर प्रदेशको श्रावस्ती जिल्लाको बलरामपुरमा भएको कार दुर्घटनामा नेपालगन्जको त्रिभुवन चोकका ६ जनाको मृत्यु भएको बाँकी प्रहरीले जनाएको छ । मृतक ६ जना दुई परिवारका रहेका छन् ।

दूर्घटनामा त्रिभुवनचोकस्थित सदरलाइनका ३५ बर्षिय वैभव गुप्ता, उनकी ३२ बर्षिया श्रीमती दिपिका गुप्ता, तीन वर्षिय छोरा डल्लु र ६ महिनाकी छोरी श्रीयाको मृत्यु भएको हो । यस्तै त्रिभुवन चोकका सन्तोष गुप्ताका २२ बर्षिय छोरा निलान्स गुप्ता र २० बर्षिया छोरी सुनीति गुप्ताको पनि सोही कार दूर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दूर्घटनामा गाडीका चालक अजय मिश्र गम्भीर घाइते भएको र उनको उपचार भईरहेको जनाइएको छ । उत्तर प्रदेशको बलरामपुर माइतीमा रहेकी दिपिकालाई लिन छोरा छोरी र छिमेकीका छोराछोरी समेत लिएर वैभव गुप्ता हिजो विहान त्यसतर्फ गएका थिए ।

बलरामपुरबाट नेपालगन्ज फर्किदै गर्दा सडक छेउको रुखमा ठोक्किएर कार दुर्घटना भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । मृतकहरुको शव आज नेपालगञ्ज ल्याइने जनाइएको छ ।

यसैबीच भारतको उत्तराखण्डस्थित केदारनाथ प्रवेश गर्ने मुख्य बिन्दुमा पर्ने गौरीकुण्डमा गएको पहिरोमा परी हराईरहेका १६ जना नेपालीको अवस्था अझैपनि अज्ञात छ । बिहीबार रातिबाट परेको वर्षासँगै खसेको पहिरोमा नेपालका १६ तथा भारतका ३ जना बेपत्ता भएका हुन् ।

पहिरोमा पुरिएका तीन जनाको शब हिजो निकालिएको छ । तर उनीहरु नेपाली हुन् कि भारतीय भन्ने सनाखत हुन भने सकेको छैन । पहिरोमा पुरिएकाहरुमा जुम्लाको पातारासी गाउँपाकिला ३ चौरगाउँका ३० वर्षिय अमर बोहोरा, ृनकी पत्नी २९ वर्षिय अनिता बोहोरा, छोरीहरु सलिता बोहोरा, पिंकी बोहोरा, प्रीती बोहोरा, छोराहरु जटिल बोहोरा र वकिल बोहोरा रहेका छन् ।

यसैगरि सोही गाउँका ४६ वर्षिय सुकराम रावत र ३८ वर्षिय बम बोहोरा, पातारासी गाउँपालिका २ पेरेगाउँका ५५ वर्षिय धर्मराज बुढा र २४ वर्षिय चन्न कामी पनि वेपत्ता भएका छन् ।

पहिरोमा पुरिएर कालिकोटका पाँच जना वेपत्ता भएको बताईएको छ । उत्तराखण्डको रुद्रप्रयाग जिल्लामा नेपालीहरुले सञ्चालन गर्दै आएका तीनवटा होटेल पहिरोले बगाएको छ ।

Categorized in राष्ट्रिय