arin enterprises

सोसियल मिडिया फिल्म अवार्डमा आदिबासी फिल्म पनि

SamacharDesk – बिराज | २०७८ कार्तिक २०, शनिबार

‘सोसियल मिडिया फिल्म अवार्ड्स’ को दोस्रो संस्करणमा यसपटक आदिबासी जनजाति भाषाका शर्ट फिल्महरुलाई पनि छुट्टै विधामा पुरस्कृत गरिने भएको छ ।

अवार्डको दोश्रो संस्करणको घोषणासँगै आयोजक संस्था ड्रिमवर्ल्ड अफ् फिल्ममेकर्स प्रा.लि. ले यस पटक मातृभाषी शर्ट फिल्मको छुट्टै प्रतिस्पर्धा हुने जनाएको हो ।

मातृभाषी चलचित्रको छुट्टै विधा नै राखिएकोले आदिबासी जनजाति फिल्ममेकरहरुलाई सहभागीताको लागि ड्रिमवर्ल्डले विशेष अनुरोध पनि गरेको छ ।

लिडिङ उमन एसोसियसनसँगको सहकार्यमा हुने अवार्डमा कथानक चलचित्र, वृत्तचित्र, विज्ञापन, समाचारमूलक भिडियो तथा विभिन्न सामाजिक सञ्जालमा प्रस्तुत हुने भिडियोहरुलाई अवाड दिइने आयोजकले जनाएको छ ।

अवार्डमा सहभागिताको लागि दरखास्त आह्वान गरिएको र अवार्डमा सहभागी हुन चाहनेहरुका लागि २०७८ कार्तिक १६ गते देखि फारम खुला गरिएको अवार्ड समितिकी अध्यक्ष जानकी प्रधानले बताईन् ।

मुलधारका फिल्म, गीत संगीत र म्युजिक भिडियोको अवार्ड भईरहेको बेला फरकधारको यो अवार्ड गर्न लागिएको अध्यक्ष प्रधानको भनाई छ ।

अवार्डमा ‘सर्ट फिल्म’ अन्तर्गत छायाँकार, सम्पादक, अभिनेत्री, अभिनेता र निर्देशक, ‘वृत्तचित्र’ चुनौतीपूर्ण समाचारमुलक भिडियो ‘जनचेतना मुलक विज्ञापन’ अन्तर्गत पिएसए विधामा प्रतिस्पर्धा हुनेछ ।

ड्रिमवर्ल्ड अफ् फिल्म मेकर्स प्रा.लि. की अध्यक्ष तथा आयोजक समितिकी कार्यकारी अध्यक्ष शबनम मुखियाले ‘सोसियल मिडिया’ अन्तर्गत फेसबुक, इन्टाग्राम, ट्विटर, युट्युव, भ्लगमा समावेश गरिएको जनचेतनामूलक र सकारात्मक सन्देश दिने भिडियोलाई प्राथमिकता दिईने जानकारी दिईन् ।

कार्यक्रम संयोजक सन्तोषी अधिकारीका अनुसार यसपटक सञ्चार, उद्योग र कलाकारीतासाथै सामाजिक क्षेत्रमा राष्ट्रको निम्ति योगदान दिने विशिष्ट व्यक्तिलाई सम्मान पनि गरिने छ ।

सम्बन्धित विधामा भाग लिने वृत्तचित्र, लघु चलचित्र, जनचेतनामुलक विज्ञापन, युट्युव भिडियोहरु दर्तापछि एक कार्यक्रम आयोजना गरि मनोनयन सार्वजनिक गरिने आयोजकले बताएको छ ।

मनोनयनमा परेका मध्येबाट उत्कृष्ट छानेर विशेष समारोहमा ‘सोसियल मिडिया फिल्म अवार्डस्’ प्रदान गरिने संयोजक अधिकारीले बताईन् ।

Categorized in पेजथ्री