arin enterprises

स्थानीय सम्पदाको विषयमा युवाहरु बीच अन्तरक्रिया

SamacharDesk – बिराज | २०८० भाद्र ४, सोमबार

सेभ नेपाः भ्याली अभियान र नेवाः गुथि न्युयोर्कको संयुक्त आयोजनामा नेवाः कला, लिपि, संस्कृति लगायत विभिन्न स्थानीय सम्पदालाई लिएर छलफल कार्यक्रमको आयोजना गरेको छ ।

शनिबार सम्पन्न कार्यक्रममा नेपाल लिपि, नेवाः कला संस्कृतिको क्षेत्रमा कार्यरत तीन सम्बन्धित विज्ञहरुसँग छलफल र अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रममा डिजिटल आर्ट विज्ञ साथै विश्व नेवाः संगठनका केन्द्रीय अध्यक्ष संयुक्त श्रेष्ठले नेवाः कला र संस्कृतिलाई पनि डिजिटल आर्टका माध्यमबाट विश्वमाझ पुर्‍याउन सकिने विचार राखे ।

नेपालको पहिलो एनिमेशन सिनेमा ‘शंखधरया बाखं, दि लिजेन्ड अफ  शंखधर’ निर्माणको क्रममा आफ्नो भोगाईको अनुभव सुनाउँदै श्रेष्ठले डिजिटल आर्टको सम्भावना बारे पनि प्रकाश पारे ।

श्रेष्ठ हाल अर्को एनिमेशन सिनेमा जय जय जय लाखेको निर्माणमा व्यस्त छन् ।

मिस नेवाः ११३० नितु डंगोल मिस नेवाःको उपाधि पाउन आफुले गरेको मिहिनेत र उपाधि जितेपछि आफुले पाएका अवसरबारे जानकारी दिइन् ।

‘यस्तो प्रतिस्पर्धामा नेवाः महिलाहरुको सहभागीता संख्या कम देखिन्छ । महिला सशक्तिकरणमा यस प्रकारको प्रतियोगिताको माध्यमबाट ब्यूटी विड ब्रेनको अवाधारणामा अगाडी बढ्न सकिने सम्भावना छ’ डंगोलले भनिन् ।

उमेरले सानो भए पनि दाफा लगायतका बिभिन्न स्थानीय तथा अन्तर्राष्ट्रिय बाजाहरु बजाउन निपुण नितिक डंगोलले श्वेत भैरब दाफा खलःबाट बालबालिकादेखि बृद्धसम्मलाई बाजा सम्बन्धी तालिमहरु दिनमा आफ्नो प्रयासबारे आफ्नो अनुभव सुनाए ।

स्थानीय मौलिक बाजागाजाको संरक्षणका लागि युवा पुस्तालाई प्रोत्साहित गर्नुपर्नेमा डंगोलले जोड दिए ।

त्यसैगरी कार्यक्रम संयोजक लालिमा श्रेष्ठले कार्यक्रमको उद्देश्य साथै अभियानको बारेमा जानकारी गराए । नेवाः गुथि न्युयोर्कका अध्यक्ष विजयमान सिंहले नेवाः हेल्प लाइनको उद्देश्यबारे प्रकाश पार्दै हेल्पलाइनमा आवद्धताको लागी आह्वान गरे ।

Categorized in समाज