अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै
SamacharDesk | २०८१ भाद्र २३, आइतबार

आज अन्तराष्ट्रिय साक्षरता दिवस । निरक्षरता उन्मुलन गर्ने लक्ष्यसहित सुरु भएको साक्षरता दिवसको अवसरमा आज विश्वभर विविध कार्यक्रम आयोजना हुँदैछन् ।
प्रत्येक वर्ष सेप्टेम्बर महिनाको ८ तारिखका दिन मनाइन्छ। यसलाई युनेस्कोले २६ अक्टोबर १९६६ मा युनेस्कोको महासभाको १४औँ सत्रमा घोषणा गरेको थियो। सन् १९६७ मा पहिलो पटक यो दिवस मनाइएको थियो।
यसको उद्देश्य व्यक्ति, समुदाय र समाजका लागि साक्षरताको महत्वलाई उजागर गर्नु हो। विभिन्न देशहरूमा यो उत्सव मनाइने गरिन्छ।
नेपालमा भने तत्कालिन राजा वीरेन्द्रले विक्रम सम्वत् २०३९ साल फागुन १२ गतेको दिनमा प्राथमिक तहको शिक्षा निःशुल्क घोषणा गरेका दिनदेखी हरेक वर्ष फागुन १२ गते शिक्षा दिवस मनाइदै आएको थियो भने गणतन्त्रको घोषणा भएसँगै अन्तर्राष्ट्रिय साक्षरता दिवसकै दिनमा मनाउन थालिएको हो।
नेपालमो मनाउन थालिएको सक्षरता दिवस १६ वर्ष बितिसक्दा पनि दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने गरी सञ्चालन गरिएको राष्ट्रिय साक्षरता अभियान अभैm पूरा हुन सकेको छैन ।
सुरुका दिनमा अभियान केही प्रभावकारी देखिए पनि अहिले सुस्ताएको छ । सरकारले पहिलो पटक २०६५ सालमा दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने लक्ष्यसहित अभियानको सुरुवात गरेको थियो ।
पछिल्लो डेढ दशकको अवधिमा साक्षरता अभियानका लागि राज्यले झन्डै १० अर्ब रुपियाँ खर्च गरिसकेको छ । त्यस्तै वार्षिक बजेटको कम्तीमा ७० प्रतिशत विद्यालय शिक्षामा लगानी हुँदै आएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार अझै पनि मधेश प्रदेश र कर्णाली प्रदेशका समेत गरेर १३ जिल्लालाई साक्षरता घोषणा गर्न सकिएको छैन ।
मधेश प्रदेशका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा साक्षर जिल्ला घोषणा हुन सकेका छैनन् । कर्णाली प्रदेशको मुगु, जुम्ला, हुम्ला, कालीकोट, डोल्पा पनि साक्षर जिल्ला घोषणा गर्न बाँकी रहेको केन्द्रले जनाएको छ ।
मधेश प्रदेशको १३० र कर्णालीका २३ स्थानीय तह साक्षर हुन बाँकी छन् । गत वर्ष साक्षरता घोषणा हुन १६१ वटा स्थानीय तह बाँकी थिए । एक वर्षमा आठ वटा स्थानीय तह मात्र साक्षर घोषणा भएका छन् ।
कुल जनसङ्ख्याको न्यूनतम ९५ प्रतिशत साक्षर भएका जिल्ला, पालिका वा प्रदेशलाई साक्षर घोषणा गर्न सकिने संयुक्त राष्ट्रसङ्घको विश्वव्यापी अभ्यास छ ।
Categorized in राष्ट्रिय