आज ११३औं अन्तर्राष्ट्रिय नारी दिवस
SamacharDesk | २०७९ फाल्गुण २४, बुधबार

आज ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ।
नेपालमा ‘लैङ्गिक समानतका लागि बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच’ भन्ने नारासहित नेपाल लगायत विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ ।
अन्तर्राष्ट्रिय नारी दिवस पनि भनिने यो दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ । नेपालमा पनि महिला अधिकार क्षेत्रमा कार्यरत संघ संगठनहरुले विभिन्न कार्यक्रम गरी यो दिवस मनाइरहेको छ ।
महिला जागरण र महिला हक अधिकारको आवाज बुलन्द गर्दै हरेक वर्ष मार्च ८ का दिन मनाईँदै आएको यो दिवसको थालनी १९०९ बाट भएको हो । संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९०९ बाट यो दिवस मनाउन थालिएको हो ।
तर त्यो समयमा विश्वभरी दिवस मनाउने दिनमा भने एकरुपता थिएन । तर १९१४ बाट भने विश्वभरी नै अंग्रेजी महिनाको मार्च ८ मा नै दिवस मनाउन थालिएको हो । नेपालमा भने वि.सं. २०१६ देखि मात्र यो दिवस मनाउन थालिएको हो ।
आजका दिन महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा भागीदारी हुने, सम्मानजक श्रम र श्रम मूल्यमा समानता कायम हुनुपर्ने एजेन्डाको सामूहिक वकालत गर्छन् ।
११३औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विश्व महिला आन्दोलनकै निम्ति विशिष्ट रहेको बताएकी छन् ।
राष्ट्रपति भण्डारीले ‘महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विश्व महिला आन्दोलनकै निम्ति विशिष्ट रहेको छ, यद्यपि महिलाको नेतृत्व विकास, अवसरको समतामूलक उपलब्धता र वितरण तथा आर्थिक प्रगतिका क्षेत्रमा तय गर्नुपर्ने लामो यात्रा बाँकी नै छ’, शुभकामना सन्देशमा भनिएको छ,
‘यस सन्दर्भमा महिलाको सहभागिता र प्रतिनिधित्व गर्न संविधानमार्फत हामीले व्यवस्था गरेका संरचनात्मक आधारले सकारात्मक परिणाम ल्याउन थालेको पक्षलाई हृदयङ्गम गर्नु सान्दर्भिक हुन्छ, यसको फलस्वरूप मुलुकका तीनै तहका सरकार, संसद् र नीति निर्माणका निकायमा महिलाको भूमिका सुदृढ हुँदै गएको छ,
यसबाट नेपाली महिलाको प्रतिष्ठा क्रमशः अभिवृद्धि हुँदै गएको छ भन्ने मलाई लाग्दछ ।’ राष्ट्रपति कार्यालयले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ ।
विश्व सँगसँगै नेपालमा ११३ औं अन्तर्राष्ट्रिय दिवस मनाइरहँदा नेपालमा लैंगिक समानता तथा नारी अधिकारका कुरामा क्रमिक सुधार भइरहेको छ ।
महिलाहरु सामाजिक, राजनीतिक लगायत क्षेत्रमा ३३ प्रतिशत सहभागिता अनिवार्य हुनु भनेको महिलाहरुको लागि ठूलो उपलब्धी मान्न सकिन्छ ।
यद्यपि महिला अधिकारकर्मीहरु अहिलेको अवस्थामा ५० प्रतिशत राज्यका हरेक क्षेत्रमा सहभागिता, समाज अधिकार हुनुपर्नेमा जोड दिईंदै आइरहेको छ ।
नेपालमा महिला अधिकारको कुरा गर्ने हो भने विगतदेखि नै महिला अधिकार सुनिश्चित हुँदै आइरहेको देखिन्छ ।
नेपालमा प्रधानमन्त्री बिपी कोइराला नेतृत्व सरकारमा द्वारिकादेवी ठकुरानी पनि मन्त्रिमण्डलमा समावेश भएर महिलाको सहभागिता भएकोमा अहिले आएर नेपालको राष्ट्रपति जस्तो गरिमामय् पदमा महिला हुनुहुन्छ ।
त्यस्तै वर्तमान अवस्थामा पनि उपसभामुखमा महिला नै पदासिन रहेको छ । विगतमा पनि सभामुख र सर्वाेच्च अदालतको प्रधानन्यायाधीश जस्तो उच्च न्यायिक पदमा महिला पुग्नु भनेको विश्व इतिहासमा नारी अधिकारको क्षेत्रमा नेपाल अग्रपङ्क्तिमा देखापर्नु हो ।
Categorized in राष्ट्रिय