ईटली विश्वकपको छनौटमा पर्न असफल
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ चैत्र ११, शुक्रबार

कुनै बेला विश्व च्याम्पियनसम्म बन्न सफल भएको ईटली फेरी एक पटक विश्वकपको छनौटमा पर्न असफल भएको छ ।
विश्वकप २००६ र युरोकप २०२० समेतको विजेता इटली कतार विश्वकप २०२२ मा छनोट हुन असफल भएको हो ।
गएराति युरोपियन छनोट अन्तर्गतको सेमिफाइनलमा नर्थ म्यासेडोनियासँग १–० गोलले पराजित हुँदै चार पटकको विश्व च्याम्पियन इटली विश्वकपमा छनोट हुनबाट बन्चित हुनुपरेको हो ।
इटालीलाई पराजित गर्ने क्रममा एलेक्सान्डर ट्राजकोभ्स्कीले इन्ज्युरी समयमा दोस्रो मिनेट अर्थात ९२ औं मिनेटमा निर्णायक गोल गरे ।
घरेलु मैदानमा भएको खेलमा इटालीले नर्थ म्यासेडोनियालाई लगातार दवाव राखे पनि अन्तिम समयमा भने गोल खान पुगेको थियो ।
योसँगै इटाली लगातार दोस्रो पटक विश्वकपमा छनोट हुनबाट असफल भएको छ । यसअघि इटाली सन् २०१८ को विश्वकपमा पनि छनोट हुन असफल भएको थियो ।
विश्वकप छनोट खेलको क्रममा इटाली घरेलु मैदानमा ५९ खेलसम्म अपराजित रहेको थियो । ५९ खेलमध्ये ४८ जितमा परेको थियो भने ११ खेलमा बराबरी गरेको थियो ।
तर ६० औं खेलमा पुगरे नथ म्यासेडोनियाले इटालीको अपराजित यात्रामा विश्राम लगाउँदै ईटालीको विश्वकप खेल्ने सपना चकनाचुर पारिदियो ।
अब नर्थ म्यासेडोनियाले भने विश्वकपमा स्थान पक्का गर्न प्ले अफको फाइनलमा मंगलबार पोर्चुगलसँग खेल्नेछ ।
Categorized in स्पाेर्ट्स