arin enterprises

नयाँ कीर्तिमानसँगै इटाली क्वार्टरफाइनलमा

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ आषाढ १३, आइतबार

 नयाँ कीर्तिमान बनाउँदै इटाली युरोकप २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

शनिबार राति भएको खेलमा इटालीले अस्ट्रियामाथि २–१  को जित निकाल्दै क्वाटरफाइनलमा आफ्नो स्थान पक्का गरेको हो । 

६५ औं मिनेटमा अष्ट्रियाका मार्को अर्नुटोभिकले गरेको गोल भीएआर रिभ्युमा अफसाइड देखिएपछि निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो ।

त्यसपछि थपिएको ३० मिनेटको अतिरिक्त समयमा इटालीले दुई गोल गर्‍यो । इटालीको लागि खेलको ९५ औं मिनेटमा सब्स्सिच्युट खेलाडी फेडेरिको चिएसाले गोल गर्दै इटालीलाई अग्रता दिलाए ।

१०५ औं मिनेटमा माटेओ पेसिनाले इटालीका लागि दोस्रो गोल गरेका थिए । उनलाई गोल गर्न आर्सबीले पास दिए ।

अस्ट्रियाका लागि कालजडिकले ११४औं मिनेटमा गोल फर्काउँदै टिमलाई खेलमा फर्काउने कोशिस गरेका थिए।

यो इटालीेले जारी युरो २०२० मा खाएको पहिलो गोल हो । अब अन्तिम आठमा इटालीले बेल्जियम वा पोर्चुगल मध्ये एक टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

अस्ट्रियालाई पराजित गरेसँगै इटालीले आफ्नो अपराजित खेल संख्या ३१ खेलसम्म लम्ब्याउँदै नयाँ राष्ट्रिय कीर्तिमान बनायो । यो इटाली सर्वाधिक खेलमा अपराजित रहेको खेल संख्या हो। 

Categorized in स्पाेर्ट्स