समूह ‘ए’ बाट इटाली र वेल्स युरोकप २०२० को अन्तिम १६ मा स्विट्जरल्यान्डले कुर्नुपर्ने
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ आषाढ ७, सोमबार

समूह ‘ए’ को शीर्ष स्थानको इटाली र दोस्रो स्थानको वेल्स युरोकप २०२० को अन्तिम १६ मा पुगेको छ ।
अघिल्ला दुई खेलमा टर्की र स्विट्जरल्यान्डलाई पराजित गरेको इटालीले आइतबार राति भएकोे खेलमा वेल्सलाई १–० ले पराजित गरेपछि लगातार तेस्रो जित हात पार्दै समूहको शीर्ष स्थानमा रहेको हो ।
रोमको ओलम्पिक स्टेडियममा वेल्सविरुद्ध इटालीलाई जित दिलाउन माटियो पेसीनाले निर्णायक गोल गरे । उनले ३९औं मिनेटमा भेराटीको फ्रिकिक बलमा गोल गरेको थियो ।
खेलको ५५औं मिनेटमा वेल्स १० खेलाडीमा सीमित भया । इटालीका फेड्रिको बेर्नार्डेस्चीलाई फउल गरेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाएका थिए ।
यस्तै हारका बावजुद पनि वेल्स समूहमा दोस्रो हुँदै अन्तिम १६ मा पुगेको छ ।
यस्तै यहि समूहको अर्को खेलमा स्विट्जरल्यान्डले टर्कीलाई ३–१ गोलले पराजित गर्यो ।
स्विट्जरल्यान्डका लागि साकिरीले २६औं र ६८ औं मिनेटमा गरी दुई गोल गरे । त्यसअघि सेफेरोभिकले छैटौं मिनेटमा गोल गरेर स्विट्जरल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए ।
टर्कीका लागि इर्फान कानले ६२ मिनेटमा गोल फर्काए ।
अन्तिम खेलमा मात्र जित निकाले पनि स्विट्जरल्यान्ड तेस्रो भएको छ ।
अघिल्ला दुई खेलमा वेल्स र स्विटरल्यान्डले टर्कीलाई हराउँदा एकआपसमा बराबरी खेलेका थिए भने दुवै टिमले इटालीसँग हार बेहोरेका थिए ।
उसलाई अब अन्तिम १६ मा पुग्न उत्कृष्ट तेस्रो टिम हुनु पर्नेछ । ६ समूहका ४ उत्कृष्ट तेस्रो टिम मात्र अन्तिम १६ मा पुग्नेछन् ।
समूह ‘ए’ को खेल सकिँदा शीर्ष स्थानको इटालीले ३ खेलबाट ९ अंक जोडेको छ । दोस्रो भएको वेल्सको ३ खेलमा ४ अंक छ र ३ खेलमा ४ अंक नै जोडेर स्विट्जरल्यान्ड गोलअन्तरमा तेस्रो बनेको छ ।
यस्तै तीनै खेलमा पराजित भएको टर्की भने अंक बिहीन हुँदै बाहिरियो ।
Categorized in स्पाेर्ट्स
