जय बागेश्वरीका घरहरुलाई मल्लकालीन शैलीमा फर्काईँदै
SamacharDesk – बिराज | २०८२ पौष २४, बिहिबार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका वडा नं. ८ जयबागेश्वरी क्षेत्रका ७५ वटा भवनहरुलाई मौलिक स्वरुपमा रुपान्तरण गरिने भएको छ ।
यसका लागि बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर ९ करोड ४ लाख ८९ हजार ३७७ रुपैयाँमा सम्झौता भइसकेको छ । यसको लागत अनुमान १० करोड ९० लाख ५७ हजार ९४४ रुपैयाँ थियो ।
यस योजनाअन्तर्गत जयबागेश्वरी मन्दिरदेखि सेतोढोकासम्मको २९० मिटर सडक दायाँबायाँ रहेका घरहरुको सडकतर्फको मोहडालाई रुपान्तरण गरेर मल्लकालीन वा राणाकालीन शैलीको स्वरुप प्रदान गरिनेछ ।
वडा ८ का अध्यक्ष एवं महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतका अनुसार मल्लकालीन शैलीमा घरको छिँडी, मातं, च्वत र बुईग: गरी चार तला तथा छानासहितको मल्लकालीन संरचनालाई अहिले फर्काउन लागिएको हो ।
यस सडकसँग करिब २५० घर परिवार जोडिएका छन् । तीमध्ये सडक वा खुला ठाउँबाट देखिने घरको अगाडिको भागको स्वरुप परिवर्तन गर्न लागिएको संगतको भनाइ छ ।
यही सडक खण्डभित्र तुयू ध्वाखा, ध्वाखासिंह नरसिंह फल्चा, ताम्रेश्वर महादेव मन्दिर, मन्दिर परिसरमा परम्परागत इनार, बच्छलेश्वरी डवली फल्चा, मूर्ति सहितको गम्ती महादेव मन्दिरसहित विभिन्न धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्वका संरचनाहरु छन् ।
नवदूर्गा नाच, १२ बर्षे हरिसिद्धि नाच, त्रिशुल जात्रा, बच्छलेश्वरी जात्रा, श्रीकृष्ण जात्रा, गाईजात्रा, खड्गजात्रा, रोपाइँजात्रा, यलाँ पर्व, गुंला पर्व यही ठाउँबाट सञ्चालन हुन्छ ।
देशोद्वार पूजा, कुमाःमचा, बालाचतुर्दशीमा सतवीज छर्ने कामको प्रारम्भ पनि यहीँबाट हुन्छ । पाशुपत क्षेत्रमा हुने धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरु यस स्थानमा ल्याउने चलन छ ।
यस क्षेत्रमा बसोबार गर्ने संगत र महर्जनहरु बसाइँ सरेर अन्यत्र जहाँ पुगेपछि ब्रतबन्धका लागि स्थान गणेशमा अनिवार्य आउनु पर्ने परम्परा रहेको वडाध्यक्ष संगतले जानकारी दिए ।
ग्वल क्षेत्रमा ९ पोखरी, ९ ढुङ्गेधारा, ९ इनार, ९ ढोका, ९ शक्तिपीठ, ९ पाटीपौवा, ९ डवली, ९ टोल र ९ थरी जात छन् ।
यस क्षेत्रको प्राचीनतालाई निरन्तरता दिनका लागि ९ वटा परम्परागत सी गुथि खलः छन् । यी गुथिहरुले परम्परागत बाजा बजाउन सिकाउने, संस्कार चलाउने र युवाहरुलाई संस्कारका विधि सिकाउने गर्छन् ।
ग्वलमा लिच्छवीकालीन प्राचीनतालाई कायम राखेर मौलिक स्वरुप पुस्तान्तरण गर्नु योजनाको मुख्य उद्देश्य रहेको वडाध्यक्ष संगले भने ।
Categorized in स्थानीय




