arin enterprises

सेतो मच्छिन्द्रनाथको जात्रा शुरु हुँदै

SamacharDesk – बिराज | २०७८ चैत्र २६, शनिबार

आज चैत्र शुक्ल अष्टमी, आजबाट काठमाडौंमा वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथ (जनबहाःद्यः) को जात्रा शुरु हुन लागेको छ ।

जात्राको क्रममा मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखेर बोकी तीनधारा पाठशाला जमलतिर लगिएको छ । जमलमा मच्छिन्द्रनाथलाई रथमा विराजमान गराइसकेर रथ तान्दै जात्रा शुरु गरिनेछ ।

यो समाचार तयार गर्दाको समय (साँझको करीब ५ः३० बजे) मच्छिन्द्रनाथको मूर्ति बाङ्गेमुढा हुँदै असनतिर लगिएको थियो । विभिन्न साँस्कृतिक बाजागाजासहित मच्छिन्द्रनाथलाई खटमा बोकेर जमलतिर लगिएको हो ।

आज जात्राको पहिलो दिन रथलाई जमलबाट तानेर त्रिचन्द्र कलेजबाट रत्नपार्क, भोटाहिटि हुँदै असन पुगेपछि आजको रथजात्रा सम्पन्न हुनेछ ।

आज जात्राको पहिलो दिन राष्ट्रप्रमुखको हैसियतले राष्ट्रपतिबाट मच्छिन्द्रनाथको दर्शन गर्न आउने परम्परा रहेको छ । आज बेलुकी असन पुगेर राष्ट्रपतिले मच्छिन्द्रनाथको दर्शन गर्नुहुनेछ भने पूजारीहरुबाट राष्ट्रपतिलाई प्रसाद दिइनेछ ।

भोलि साँझ रथलाई असनबाट तानेर लगी हनुमानढोका तलेजु मन्दिरको अगाडी पुर्‍याइनेछ ।

सेतो मच्छिन्द्रनाथको जात्रा विना कुनै विघ्नवाधा सम्पन्न भए वर्षा राम्रो भई अन्नबाली राम्रो हुने जनविश्वास रहि आएको छ ।

स्थानीय जनसमुदायमा जनबहाःद्यः अथवा जमलबहाःद्यःको नामले प्रशिद्ध देवतालाई नाथ सम्प्रदायीहरु मच्छिन्द्रनाथको रुपमा, शाक्तहरुले देवीको रुपमा, वैष्णवहरुले नारायणकै रुपमा पुज्दै आएका छन् भने वौद्ध धर्मावलम्बीहरु आर्यावलोकितेश्वरको रुपमा पुज्दछन् । 

Categorized in संस्कृति