जनसरोकार दस्ता घोषणा
SamacharDesk – बिराज | २०७८ चैत्र ३, बिहिबार

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले उठिवास गरिएका स्वबासीहरुलाई पनि सरकारले नै जग्गा उपलब्ध गराउने बताउनुभएको छ ।
काठमाडौंमा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका वरिष्ठ नेतासमेत रहेका मन्त्री श्रेष्ठले कारणवश आफ्नो थातथलोबाट उठिवास भएका स्वबासीलाई पनि जग्गा उपलब्ध गराउने गरी भूमि आयोगको परिभाषा संशोधन गरिएको जानकारी गराउनुभयो ।
‘सडक विस्तारलगायत विविध कारणहरुबाट यहाँका स्ववासीहरु सुकुम्वासी बनेको अवस्था छ, सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने भनी गरिएको भूमि आयोगको परिभाषा संशोधन गरी आफ्नो थातथलोबाट उठिवास भएका स्ववासीलाई पनि जग्गा उपलब्ध गराउने गरी संशोधन भइसकेको छ’ मन्त्री श्रेष्ठले भने ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल अन्तर्गतको जनसरोकार समन्वय समितिबाट आयोजित कार्यक्रममा जनसरोकार दस्ता घोषणा गरिएको थियो । कार्यक्रममा मन्त्री श्रेष्ठले दस्ताका सदस्यहरुलाई दस्ताको ज्याकेट हस्तान्तरण गर्नुभएको थियो ।
दस्ता घोषणा पछि बोल्दै समितिका संयोजक श्यामकृष्ण प्रजापतिले करीब डेढ वर्ष अघि नै दस्ताको निर्माण भइसकेको भएपनि अहिले औपचारिक घोषणा गरिएको बताउनुभयो ।
दस्ताले काठमाडौं उपत्यकाका स्थानीय वासिन्दासँग प्रत्यक्ष सरोकार राख्ने मुद्दाहरुमा अघि बढ्ने संयोजक प्रजापतिले बताउनुभयो ।
दस्ताले पहिलेदेखि नै सडक विस्तार, फास्ट ट्र्याक, सुख्खा वन्दरगाह, बाहिरी चक्रपथ, गुठी विधेयकलगायतका मुद्दामा संघर्षमा उत्रेका स्मरण गराउँदै स्थानीय मुद्दाहरुमा अब झन सशक्त रुपमा अघि बढ्ने प्रजापतिको भनाई थियो ।
‘स्थानीय वासिन्दाले भोग्दै आएका समस्याको समाधानका लागि सरोकारवाला निकायसँग समन्वय, संवादलाई अगाडी बढाउने र आवश्यकता अनुसार संघर्षमा उत्रिनुपरेपनि हामी पछि हट्नेछैनौं’ प्रजापतिको भनाई थियो ।
कार्यक्रममा दस्ताका ५१ जना सदस्यको नाम घोषणा गर्दै ज्याकेट वितरण गरिएको थियो भने अन्य ५० जना सदस्य फेरी थप गर्ने बताइएको छ ।
Categorized in राजनीति