जोन्सन एन्ड जोन्सनले १ करोड ८८ लाख डलर क्षतिपूर्ति तिर्नुपर्ने
SamacharDesk | २०८० श्रावण ३, बुधबार

अमेरिकी बहुराष्ट्रिय कम्पनी जोन्सन एन्ड जोन्सनले एक ब्यक्तिलाई १ करोड ८८ लाख डलर क्षतिपूर्ति तिर्नुपर्ने भएको छ ।
क्यालिफोर्नियका २४ वर्षीय इमोरी हर्नान्डेज भलाडेजले जोन्सन एण्ड जोन्सनको बेबी पाउडर प्रयोग गरेका कारण आफूलाई क्यान्सर भएको भन्दै मुद्दा हालेकोमा क्यालिफोर्निया स्टेट कोर्टले मंगलबार उनको पक्षमा फैसला सुनाएको हो ।
सानै उमेरदेखि सो कम्पनीको पाउडर प्रयोग गरेका कारण आफूमा ‘मेसोथेलिओमा’ नामको क्यान्सर देखिएको उनको दाबीलाई अदालतले पनि सही ठहर गरेको हो ।
स्टेट कोर्टको जुरीले पीडित हर्नान्डेजको उपचार खर्च र उनले भोगेको शारीरिक तथा मानसिक पीडाको क्षतिपूर्ति पनि दिन आदेश दिएको हो ।
तर, कम्पनीलाई दण्डात्मक क्षतिपूर्ति तिराउने माग भने अदालतले अस्वीकार गरेको छ ।
जनसन एन्ड जनसन कम्पनीको बेबी पाउडरमा एस्बेसटस रहेको र त्यसले क्यान्सर गराएको भन्दै दर्जनौं उजुरी परे पनि कम्पनीले भने वैज्ञानिक अनुसन्धानबाट आफ्नो पाउडर सुरक्षित रहेको दाबी गर्दै आएको छ ।
यसको साथै कम्पनिले प्रकृतिका कैयौं अरु मुद्दाहरु पनि लडिरहेको छ ।
Categorized in अन्तर्राष्ट्रिय