arin enterprises

अबको १५ दिनमा कमलपोखरीको उद्घाटन हुने

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ माघ २६, बुधबार

काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले अबको करीब १५ दिनमा कमलपोखरीको उद्घाटन हुने बताउनुभएको छ । महानगर प्रमुख शाक्यले पुर्ननिर्माणको काम करीब–करीब सम्पन्न भएको भन्दै अब छिट्टै उद्घाटन गर्ने जानकारी गराउनुभयो ।

पुर्ननिर्माणको अन्तिम चरणमा रहेको कमलपोखरी सौन्दर्यकरण योजना अनुरुप ९ वटा चैत्यको आज विधिवत प्रतिस्थापन गर्दै प्रमुख शाक्यले यस्तो बताउनुभएको हो ।

उहाँले पोखरी पुनर्निमार्णणको काम एक वर्ष अघि नै सम्पन्न हुनुपर्ने भए पनि कोभिडका कारण केही ढिलासुस्ती भएको बताउनुभयो ।

उहाँले चैत्यसँगै यहाँको सास्कृतिक सम्पदाको संरक्षण र मौलिकता कायम गर्दै कमलपोखरी वरीपरी वृक्षारोपण गर्ने तयारी भएको पनि जानकारी दिनुभयो ।

महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले स्थानीय वासिन्दाकै सहयोगले कमलपोखरीलाई पहिलाको भन्दा व्यवस्थित बनाउँदै यो अवस्थासम्म ल्याउन सफल भएको भन्दै कृतज्ञता व्यक्त गर्नुभयो ।

महानगरपालिकाका अनुसार करीब ६ करोड ३६ लाखको लगानीमा निर्माण भैरहेको उक्त पोखरी बास्तुशास्त्रमा आधारीत भएर निर्माण भइरहेको छ ।

कार्यक्रममा महानगरका प्रमुख प्रशासकिय अधिकृत लोकनाथ पौड्याल, महानगरपालिकाका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत, सहरी पूर्वाधार विभागका प्रमुख राम थापा, कामपा वडा–१ का अध्यक्ष भरतलाल श्रेष्ठलगायतको उपस्थिती रहेको थियो । 

Categorized in स्थानीय