arin enterprises

काठमाडौं, भरतपुर महानगरपालिकाको मतगणना शुरु, उपमेयरमा सुनिता डंगोलको अग्रता

SamacharDesk | २०७९ बैशाख ३१, शनिबार

स्थानीय तह निर्वाचनको सर्वाधिक चासोको विषय रहेको काठमाडौं र भरतपुर महानगरपालिकाको मतगणना शुरु भएको छ । 

काठमाडौं महानगरपालिकाका मतगणना अनुसार सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका सिर्जना सिंह र नेकपा (एमाले)का केशव स्थापितबीच महानगरप्रमुखको लागि कडा प्रतिष्पर्धा भएको छ । 

त्यसैगरी, विभिन्न राजनीतिक पार्टीहरुसहित स्वतन्त्र उम्मेदवार बालेन शाह पनि प्रमुख पदको लागि प्रतिष्पर्धामा हुनुहुन्छ ।

काठमाडौं महानगरपालिकामा उपमेयरमा भने एमालेकी सुनिता डंगोलले फराकिलो अन्तरालमा लिड गरेकी छन् ।

प्राप्त विवरण अनुसार ७५ भोटको गणना सकिँदा सुनिताले ५२ मत ल्याएकी हुन् । यो दुईतिहाइभन्दा बढी हो । उपमेयरका अन्य उम्मेदवारको मत संख्या प्राप्त भएको छैन ।

उता भरतपुर महानगरपालिकाको पनि मतगणना सुरु भएको छ । शनिबार मध्याह्नदेखि महानगरको वडा नम्बर १ को रामनगर मावि र आदिकवि भानु माविको केन्द्रबाट मतगणना सुरु भएको छ ।

शुक्रबार सम्पन्न भएको स्थानीय तह निर्वाचनमा तीन हजार २७७ मत खसेको छ । यहाँ पाँच हजार ७४ मतदाता सङ्ख्या रहेको थियो ।

भरतपुर महानगर प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)की रेनु दाहाल र नेकपा (एमाले)बाट विजय सुवेदी चुनावी मैदानमा हुनुहुन्छ ।

उता विराटनगर महानगरपालिकाको प्रमुखमा गठबन्धन तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले प्रारम्भिक अग्रता लिएका छन् ।

मतगणनामा कोइरालाले २५ मत ल्याएका छन् । नेकपा एमालेका उम्मेदवार सागरकुमार थापाले ११ मत ल्याएर पछ्याइरहेका छन् । मेयरका स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले ३ मत पाएका छन् ।

Categorized in राष्ट्रिय