arin enterprises

काठमाडौं मोडल स्कूलको दिक्षान्त समारोह सम्पन्न

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८१ बैशाख १४, शुक्रबार

काठमाडौंको खुसिबुँस्थित काठमाडौं मोडल स्कूलको दिक्षान्त समारोह साथै वार्षिक कार्यक्रम सम्पन्न भएको छ ।

स्कूलले विभिन्न सम्मान र विद्यार्थीहरुको सांस्कृतिक प्रस्तुतिसहित विभिन्न तहको परीक्षा उत्तीर्ण विद्यार्थीहरुको लागि समारोहको आयोजना गरेको हो ।

कार्यक्रममा स्कुलको पूर्व–प्राथमिक तह, आधारभूत तह र माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न कार्यक्रममा प्रभात मा.वि. का पूर्व शिक्षक साथै काठमाडौं मोडल स्कूल व्यवस्थापन समितिका पुर्व अध्यक्ष नातिकाजी महर्जनलाई सम्मान गरिएको थियो ।

पुर्व शिक्षक महर्जनलाई ज्ञानोदय मा.वि. का पूर्व प्रधानाध्यापक नातिकाजी महर्जनले दोसल्ला ओढाए भने काठमाडौं मोडल स्कूलका निर्देशक राजेन्द्र महर्जनले सम्मान पत्र प्रदान गरे ।

सोही कार्यक्रममा स्कूलका शिक्षकहरुलाई दीर्घ सेवा सम्मान पनि प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै स्कूलका शिक्षक साथै अनुवादक ओमप्रकाश खरेलले विद्यार्थीहरुलाई ल्यापटप, मोबाइल लगायतका प्रविधिबाट टाढा बनाउनु भन्दा सदुपयोग गर्न सिकाउन अभिभावकहरुलाई सुझाव दिए ।

‘अहिलेको समयमा मोबाइल, ल्यापटप नचलाएर हुन्छ ? यसैबाट कति कुराहरु सिक्न सकिन्छ । प्रविधि नचलाउ भन्ने होइन, यसको सहि प्रयोग बच्चाहरुलाई सिकाइदिनुस् बरु’ शिक्षक खरेलले भने ।

स्कूलका निर्देशक राजेन्द्र महर्जनले किताबी अक्षर भन्दा व्यवहारिक ज्ञान, नैतिक शिक्षा बच्चाहरुलाई दिन शिक्षक साथै अभिभावकहरुले प्रयास गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा स्कूलका विद्यार्थीहरुले शिव ताण्डव, के पप, फ्लेमिङ्गो, मार्सल आर्ट डेमो, अर्केस्ट्रा लगायतका प्रस्तुति दिएका थिए ।

Categorized in समाज