ख्वप अस्पताललाई १०० शैय्या क्षमतामा स्तरोन्नति गरिने
SamacharDesk – समाचारडेस्क | २०७८ माघ २२, शनिबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप अस्पताललाई चाँडै नै १०० शैय्या क्षमतामा स्तरोन्नति गरिने बताएका छन् ।
प्रदेश सरकार स्वास्थ्य निर्देशनालयबाट आएको टोलीलाई अस्पतालबारे जानकारी गराउँदै शुक्रबार नगर प्रमुख तथा ख्वप अस्पताल सञ्चालक समितिका अध्यक्ष प्रजापतिले अस्पतालको स्तरोन्नतिका लागि आवश्यक सहयोग माग पनि गरेका हुन् ।
नगर प्रमुखले जनताको माग र आवश्यकताअनुसार अस्पतालले बिरामीहरूलाई २४ सै घण्टा इमर्जेन्सी सेवा, ल्याब, एक्स–रे र फार्मेसी सेवा, स्त्री रोग, जनरल सर्जरी, बाल रोग, हाडजोर्नीलगायतका सेवाहरू सञ्चालनमा ल्याएको जानकारी गराए ।
प्रदेश सरकार स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाको नेतृत्वमा आएको टोलीले ख्वप अस्पतालको भौतिक पूर्वाधार नेपाल सरकारले तोकेको मापदण्डअनुरूप नै भइरहेको जनाएका छन् । नगरपालिकाबाट सञ्चालित ख्वप अस्पताल उदाहरणीय भएको जनाउँदै शिक्षा र स्वास्थ्य क्षेत्रमा अन्य स्थानीय तहले पनि भक्तपुर नगरपालिकाबाट सिक्नुपर्ने उनले जनाएका छन् ।
Categorized in स्थानीय