arin enterprises

कामपा १८ वडाको चुनावी मैदानमा चन्द्र महर्जन

SamacharDesk – बिराज | २०७९ बैशाख ८, बिहिबार

स्थानीय निर्वाचनको क्रममा काठमाडौं महानगरपालिका वडा १८ मा वडाध्यक्षका लागि किलागल टोलका चन्द्र महर्जनले उम्मेदवारी दिने भएका छन्।  कामपा १८ वडाको अध्यक्ष पदका लागि जनता समाजवादी पार्टी (जसपा) नेपालले स्थानीय अभियानकर्मी महर्जनलाई चुनावी मैदानमा उतार्न लागेको हो ।

कामपा १८ वडाका अध्यक्षका प्रत्याशी महर्जन स्टार क्लबका अध्यक्ष समेत हुन् भने लकडाउनको समयमा फुटपाथ पसल हटाउ अभियानमा निरन्तर २ सय दिन भन्दा बढि खटेका थिए । हाल उनी स्वच्छ जागरुक युवा समाज नामक सामाजिक संस्थामार्फत पनि सामाजिक गतिविधिमा सक्रिय छन् ।

समाचारडेस्कसँग कुरा गर्दै महर्जनले आफ्नो पुर्ख्याैली थातथलो नै काठमाडौं महानगरपालिका १८ वडा भित्र रहेको किलालग टोल भएकोले यस वडाको समस्या, आवश्यकता सबैले आफुले बुझेको दावी गरे ।

‘वडाको विकासको लागि के कस्ता कदम चालिनुपर्छ, के कस्ता कामहरु गर्नुपर्छ मैले एकदम राम्ररी बुझेको छु । म यहाँको वडाध्यक्ष भएर आएँ भने वडाको मुहारै फेरीदिने योजना मसँग छ । त्यसैले मैले उम्मेदवारी दिन लागेकाे हुँ’ महर्जनको भनाई हो ।

आफु वडाध्यक्ष भएर आएपछि अल्पकालीन योजना अन्तर्गत यहाँको फुटपाथ पसलको व्यवस्थापन, अव्यवस्थित तारहरुलाई व्यवस्थित बनाउने, ढल, खानेपानीको उचित व्यवस्थालगायतको काम गर्ने महर्जनले बताए । साथै सम्भाव्यताको अध्ययन गरी वडामा हरियाली बनाउने, ज्येष्ठ नागरिक क्लबको समेत विकास गर्ने आफ्नो योजना रहेको महर्जनले जानकारी गराए ।

‘ज्येष्ठ नागरिकहरु घरमै मात्र बस्नुपर्दा मानसिक रुपमै विरामी पर्न सक्छन् । त्यसैले ज्येष्ठ नागरिकहरु भेला हुने, एक आपसमा छलफल, अन्तरक्रिया गर्ने, योग, व्यायाम, भजन किर्तन, प्रवचन आदि लगायतको गतिविधि गर्न ज्येष्ठ नागरिक क्लब बनाउने योजना पनि मैले बनाएको छु’ महर्जनले आफ्नो योजना सुनाउँदै गए ।

वडाको विकासका लागि दीर्घकालीन योजना अन्तर्गत १८ वडालाई सांस्कृतिक वडाको रुपमा विकास गरी पर्यटकिय हबको रुपमा अगाडी बढाउने महर्जनको योजना रहेको छ ।

‘यस वडाभित्र  माैलिक स्वरूपमा घर बनाउन वडावासीलाई प्राेत्साहित गर्न अनुदानकाे व्यवस्था गर्नेछु, साथै यहाँका मूर्त सम्पदाको पुनर्निर्माण, जिर्णोद्धार, अमूर्त सम्पदाको संरक्षण सम्वर्ध्दनका लागि गुरुयोजना नै बनाएर अघि बढ्नेछु’ महर्जनको भनाई हो ।

परम्परागत पेशा संरक्षको लागि आवश्यकताको आधारमा अन्य वडा वा अन्य स्थानीय सरकारसँगको सहकार्यमा आवश्यक कदम चाल्दै वडा र वडाबासीको आर्थिक समृद्धिका लागि आफु सक्रिय हुने प्रतिवद्धता पनि महर्जनले व्यक्त गरे । 

हाल काठमाडौं महानगरपालिका १८ वडामा नेकपा एमालेबाट विजयी न्हुछेँकाजी महर्जन वडाध्यक्ष छन् ।

Categorized in स्थानीय