arin enterprises

काठमाडौँ महानगरपालिकाको केन्द्रीय भवनको शिलान्यास

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ आश्विन २५, सोमबार

काठमाडौँ महानगरपालिकाको केन्द्रीय भवनको शिलान्यास भएको छ ।

महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले हाल वातावरण विभाग रहेको टेकुमा महानगरपालिकाको केन्द्रीय भवनको शिलान्यास गर्नुभएको हो ।

शिलान्यासपछि बोल्दै प्रमुख शाक्यले हरिभवनमा केन्द्रीय कार्यालय बनाउने भनेकोमा मुद्दामामिलामा अल्झिनु परेकोले त्यहाँ काम थाल्न नपाएको स्मरण गर्दै मुद्दा किनारा लागेपछि सो भवन पनि पुननिर्माण गर्ने बताउनुभयो ।

शाक्यले आगलागी नियन्त्रणमा अत्यावश्यक दमकलको भवन निर्माण गर्ने योजनामासमेत मुद्दा खेप्नु परेको नमीठो अनुभव सुनाउनुभयो ।

कार्यक्रममा संघीय सांसद कृष्णगोपाल श्रेष्ठले सरकारका पात्र परिवर्तन भएपनि स्वीकृत कार्यक्रम नियमित चलिरहनुपर्नेमा जोड दिनुभयो । महानगर उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले ढिलै भए पनि केन्द्रीय भवन शिलान्यास गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

त्यस क्रममा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, वडा १२ का अध्यक्ष विकास डंगोलले पनि आ–आफ्नो कुरा राख्नुभएको थियो ।

भवन भूमिगत तलासहितको ८ तले ६ हजार ६८३ दशमलव ३३ वर्ग मिटर क्षेत्रफलको हुनेछ । ०८० साल असोज मसान्तसम्ममा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ ।

भवन निर्माणको ठेक्का समानान्तर निर्माण सेवा प्रा.लि. ले ६९ करोड ५८ लाख १९ हजार ३ सय ५९ रुपैयाँमा पाएको छ ।

सहरी योजना आयोगमा उपाध्यक्ष सरोज बस्नेतका अनुसार भूकम्प प्रतिरोधी प्रविधिको प्रयोग, वरिपरि खुल्ला ठाउँ र मौलिक वास्तु शैली भवनका मुख्य विशेषता हुन् ।

आकाशे पानी संकलन तथा संकलित पानीको शुद्धिकरण प्रणाली सहितको रिचार्ज पिट डिजाइनमा समावेश गरिएको छ । भवनको आठौँ तलामा २ सय जना क्षमताको एउटा र १ सय जना क्षमताको एउटा गरी २ वटा छुट्टाछुट्टै सभा कक्ष समेत निर्माण गरिनेछ ।

Categorized in स्थानीय