arin enterprises

महानगरबाट त्रि.वि. शिक्षण अस्पताललाई १० थान भेन्टिलेटर प्रदान

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ बैशाख २५, शनिबार

काठमाडौँ महानगरले त्रि. वि. शिक्षण अस्पताल महाराजगञ्जलाई १० थान भन्टिलेटर प्रदान गरेको छ । कोभिड संक्रमणबाट विरामीको संख्या बढ्दै गएपछि मानवीय जीवन रक्षाका लागि भेन्टिलेटर उपलब्ध गराइएको हो ।

आज अस्पताल पुगेर महानगरका प्रमुख विद्यासुन्दर शाक्यले अस्पतालका निर्देशक प्रा. डा. दिनेश काफ्लेलाई सामाग्री हस्तान्तरण गर्नुभयोे ।

त्यस अवसरमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन प्रा. डा. दिव्या सिंह शाह, वडा ३ का अध्यक्ष दिपक के. सी. लगायतको उपस्थिती थियो ।

महानगरपालिले अस्पताललाई प्रदान गरेको भेन्टिलेटरको मूल्य अभिवृद्धि कर र भन्सारसहित २ करोड ९ लाख रुपैयाँ रहेको बताइएको छ ।

सामग्री हस्तान्तरण पछि महानगर प्रमुख शाक्यले समुदाय स्तरमा संक्रमण घटाउनुका साथै उपचारका लागि अस्पताल जानेका लागि सुविधा बढाउने कामलाई सँगै अघि बढाउँदै लगेको बताउनुभयो ।

‘हाम्रा योजनाहरु अस्पतालमा भेन्टिलेटर र आइसियु बढाउनुभन्दा व्यक्ति—व्यक्तिलाई संक्रमण हुनबाटै बचाउनेतिर केन्द्रीत गरिनुपर्छ’, शाक्यले भन्नुभयो, ‘हामी सरकारी र सामुदायिक अस्पतालमा सरकारले गरेको काममा नपुगेको क्षेत्रमा सहयोग उपलब्ध गराउँछौँ ।’

त्रि. वि. शिक्षण अस्पतालसँगै अन्य अस्पतालबाट पनि प्रस्ताव आएको बताउँदै शाक्यले अस्पतालको क्षमता बढाउनका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यस क्रममा उपप्रमुख खड्गी श्रेष्ठले महानगरले अहिले पूर्वाधार निर्माणका काममाभन्दा महामारी नियन्त्रणमा केन्द्रीत गरेको बताउनुभयो । अध्ययन संस्थानका डीन प्रा. डा. सिंह शाहले महानगरको सहयोगबाट उत्साहित भएको बताउनुभयो ।

त्यस्तै अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. काफ्लले महानगरका प्रमुख र उपप्रमुख अस्पतालमै आएर सहयोग गरेपछि आफूहरु महामारीविरुद्ध लड्न थप उत्साहित भएको बताउनुभयो ।

‘अस्पतालमा अहिले दैनिक ५ हजार लिटर अक्सिजन खपत भइरहेकोमा २ हजार लिटर आन्तरिक प्रणाली र ३ हजार लिटर बाह्य उत्पादनबाट व्यवस्थापन गरिएको छ । यसको माग अझै बढ्दै गएको छ’ कार्यकारी निर्देशक काफ्लेले भन्नुभयो, ‘महानगरको सहयोग यहाँ पनि आवश्यक छ ।’

अस्पतालका सूचना अधिकृत रामविक्रम अधिकारीकाअनुसार अस्पतालमा कोभिड संक्रमण भएका विरामीको संख्या बढ्दै गएको छ ।

Categorized in समाज