कामपाले शिक्षकहरुलाई क्षमता विकास तालिम दिने
SamacharDesk – बिराज | २०८१ पौष २०, शनिबार

काठमाडौँ महानगरपालिकाकाको शिक्षा विभागले जाडो विदाका समयमा सामुदायिक विद्यालयहरुका शिक्षकहरुलाई क्षमता विकास तालिममा सहभागी हुन आह्वान गरेको छ ।
‘टिचर कलेज कार्यक्रम’ अन्तर्गत सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरुलाई तालिमबाट क्षमता विकास गराउँदै शिक्षकहरुले प्राप्त गरेको योग्यतालाई विश्वविद्यालयबाट प्रमाणीकरण गराउने योजनाअन्तर्गत तालिम सञ्चालन गर्न लागिएको हो ।
सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झासामुदायिक विद्यालयको नतिजा सुधार गर्न शिक्षकको क्षमता विकासमा लगानी गर्नु पर्ने भएकोले तालिम सञ्चालन गर्न लागेको बताउँछन् ।
‘शैक्षिक क्रियाकलापमा असर नहुने गरी विदाको समय सदुपयोग गर्न लागेका हौं । शिक्षकको क्षमता विकास गराएर शैक्षिक क्रियाकलापलाई सिर्जनात्मक, एकीकृत, सिप र व्यवहारमा आधारित बनाउने लक्ष्य छ’ झाको भनाई हो ।
सामुदायिक विद्यालयहरुमा पुस १८ गते सुरु भएको विदा माघ ८ गतेसम्म हुनेछ ।
यस अवधिलाई शैक्षिक सत्र २०८१ को कार्ययोजनाअनुसार विद्यार्थीहरुको पढाइमा असर नहुने, खेलकुद तथा सिकाइमा थप सहयोग पुग्ने खालका कार्यक्रम तर्जुमा गरिएका हुन् ।
