arin enterprises

कुचोले बढार्न नसक्ने सबै फोहोर उठाउँदै नगर प्रहरी

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ बैशाख २७, सोमबार

बैशाख १६ गतेपछि मुल सडक क्षेत्रका निर्माण कार्यबाट छोडिएका सामाग्री उठाउन काठमाडौं महानगरका प्रहरीहरु व्यस्त छन् ।

यस क्रममा जनशक्ति, सवारी र उपकरणको प्रयोग गरेर कुचोले बढार्न र उठाउन नसकिने सबै खालका फोहोर र सामाग्री उठाउने गरिएको छ ।

आज नगर प्रहरीले धोवीखोला सेतोपुलदेखि चावहिल चक्रपथसम्म करिडोर सडकमा छोडिएका निर्माणजन्य फोहोर उठाएको छ । व्यस्त दिनमा सवारी चापले गर्न नसकिने काम बन्दाबन्दीका समयमा नगर प्रहरीहरुले गरिरहेका हुन् ।

‘सडक र सडक पेटी बनाउँदा बाँकी रहेका रोडा, इटा, ढुङ्गा, सिमेन्ट, सवारी दुर्घटनापछि टुटेफुटेका सडक वा बारका टुक्रा, विजुलीका तारलगायत सामान पाइन्छन्’, नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटा भन्नुहुन्छ, ‘बैशाख १६ गतेदेखि अहिलेसम्ममा ३० ट्रक सामाग्री सडकबाट उठाइसकेका छौँ, यो क्रम जारी रहन्छ ।’

विकास साझेदारले निर्माणपछिको व्यवस्थापनमा जिम्मेवार नहुँदा महानगरलाई दोष आउने गरेको सापकोटा भन्नुहुन्छ ।

गएको बर्षको बन्दाबन्दीमा पनि नगर प्रहरीले पार्कका विरुवाको छाँटकाँट, सडक सफाइ र निर्माण सामाग्री हटाउने काम गरेका थिए ।

Categorized in स्थानीय