arin enterprises

८ सय प्राथमिक उपचारकर्ता तयार गर्दै कामपा

SamacharDesk – बिराज | २०८३ बैशाख १०, बिहिबार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सबै वडामा प्राथमिक उपचार तालिम सञ्चालन गरेर ८ सय जना प्राथमिक उपचारकर्ता जनशक्ति तयार गरिरहेको छ ।

यसका लागि नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखासँगको सहकार्यमा वडास्तरीय तालिम सञ्चालन भइरहेका छन् ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले वडा क्षेत्रभित्र हुने घटना व्यवस्थापन गर्न प्राथमिक उपचार तालिम प्रभावकारी हुने बताए ।

वडा स्तरीय प्राथमिक उपचार तालिम अन्तर्गत कन्या माध्यमिक विद्यालयमा वडा १७ का स्थानीयका लागि सञ्चालित तालिमको समापन गर्दै मानन्धरले यस्तो भनेका हुन् ।

‘रेडक्रसले आफूलाई होइन, अरुका लागि भन्ने सिकाउँछ । प्राथमिक उपचार पनि अरुको सेवा गर्छु भनेर सिक्ने सिप हो । यो आफूलाई कम र अरुलाई धेरै काम लाग्छ’ मानन्धरको भनाइ थियो ।

स्वास्थ्य विभागका प्रमुख दिपककुमार के.सी.ले करदाताले तिरेको करलाई स्वास्थ्य सेवाको पहुँच र स्तर वृद्धि गर्नमा खर्च गरिरहेको बताए ।

वडा सदस्य जितेन्द्र खड्गी, रेडक्रस सोसाइटी काठमाडौँ शाखाका सभापति श्यामकाजी डोटेल, तालिमका प्रशिक्षक राजाराम श्रेष्ठ लगायतले सिकेको सीप आवश्यक स्थानमा प्रयोग गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गरे ।

तालिममा १६ वर्षदेखि ६५ वर्ष उमेर समूहका २३ जना महिला र २ जना पुरुषको सहभागीता थियो । यसरी लिएको तालिमबाट प्राप्त गरेको प्रमाण पत्र नेपाल सहित १९२ देशमा मान्य हुनेछ ।

दुर्घटना, चोटपटक, अचानक विरामी पर्ने अवस्था जस्ता स्वास्थ्यजन्य आपतकालीन परिस्थितिमा विरामीलाई अस्पताल पु¥याउनु अघि अवस्था थप विग्रिन नदिनु तालिम सञ्चालनको मुख्य उद्देश्य रहेको कामपाले जनाएको छ ।

Categorized in स्थानीय