arin enterprises

काठमाडौं महानगरबाट छत्रपाटी चिकित्सालय र टेकु अस्पताललाई भेन्टिलेटर प्रदान

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ जेठ ८, शनिबार

काठमाडौँ महानगरपालिकाले शुक्रराज ट्रपिकल अस्पताल टेकु र छत्रपाटी निःशुल्क चिकित्सालय, क्षेत्रपाटीलाई २—२ थान भीजी ७० मोडलका भेन्टिलेटर प्रदान गरेको छ ।

महानगर प्रमुख विद्यासुन्दर शाक्यको रोहवरमा जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर र अस्पतालका निर्देशकहरुविच सम्झौता गरेर उपकरण प्रदान गरिएको हो ।

उपकरण हस्तान्तरणपछि संक्षिप्त प्रतिक्रिया दिँदै महानगरका प्रमुख शाक्यले तुरन्तै भेन्टिलेटर सञ्चालनमा ल्याएर जनताको जीवन बचाउन आग्रह गर्नुभयो ।

काठमाडौँ महानगरले अहिले सबै काम थाँती राखेर जनताको जीवन बचाउन प्रयास गरिरहेको महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको भनाई थियो ।

भेन्टिलेटर प्राप्त गरिसकेपछि टेकु अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले, कोभिड संक्रमणले स्वास्थ्य क्षेत्रलाई जटिल अवस्थामा ल्याएको बेला महानगरबाट भेन्टिलेटर प्राप्त भएपछि अस्पताल थप सेवा दिन सक्ने भएको उल्लेख गर्नुभयो ।

त्यस्तै, छत्रपाटी निःशुल्क चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले आफ्नो अस्पताललाई कोभिड अस्पताल बनाउन थप बल पुगेको बताउनुभयो ।

‘छत्रपाटी चिकित्सालय काठमाडौंको भित्री वस्तीका वासिन्दाको लागि आड हो, भरोसा हो । यो चिकित्सालय महानगरको कोभिड अस्पताल हो, यो सञ्चालनको अन्तिम तयारीमा छ’ अध्यक्ष श्रेष्ठको भनाइ थियो ।

छत्रपाटी निःशुल्क चिकित्सालयमा ३५ वेडको कोभिड अस्पताल सञ्चालन अन्तिम तयारीमा पुगेको छ ।

काठमाडौँ महानगरले यस अघि सरकारी र सामुदायिक गरी १२ वटा अस्पतालहरुलाई कोविडको उपचारमा क्षमता बढाउन विभिन्न खालका सहयोग गरिसकेको छ । छत्रपाटी निःशुल्क चिकित्सालयमा ३५ वेडको कोभिड अस्पताल सञ्चालन अन्तिम तयारीमा पुगेको छ ।

Categorized in स्थानीय