कोरिया जान भाषा परिक्षाको आवेदन खुल्यो
SamacharDesk | २०७८ फाल्गुण ३०, सोमबार

रोजगारीका लागि कोरिया जान चाहनेहरुलाई भाषा परीक्षाको आवेदन खुलेको छ ।
नेपाल सरकारले रोजगार अनुमति प्रणाली ईपीएसमार्फत कामदार दक्षिण कोरिया पठाउन नौ हजार ६५४ जनाको आवेदन खुला गर्ने भएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले सोमबार सार्वजनिक सूचना प्रकाशन गरी आवेदन माग गर्ने जनाएको हो ।
नेपालीहरुको वैदेशिक रोजगारका लागि एक राम्रो गन्तव्य कोरियामा जान वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले चैत १४ देखि २१ गतेसम्म भाषा परीक्षाका लागि आवेदन खुलाइएको जानकारी दिएका हुन । १८ वर्ष पूरा भई ३९ वर्ष पार नगरेका नेपाली नागरिकले अनलाइनमार्फत आवेदन दिन पाउने छन् ।
सो शाखाका अनुसार २०२२ र २०२३ मा दक्षिण कोरियाले उत्पादनतर्फ छ हजार ९१४ हजार र कृषि तथा पशुपालनतर्फ दुई हजार ७४१ श्रमिक लैजाने भएका छन् । एक व्यक्तिले एउटा क्षेत्रमा मात्रै आवेदन दिन पाउने व्यवस्था छ । जुन क्षेत्रका लागि परीक्षा आवेदन फाराम भरेको हो, भाषा परीक्षा उत्तीर्ण भएपछि त्यही क्षेत्रमा मात्र रोजगार आवेदन फाराम भर्नुपर्नेछ ।
कृषि तथा पशुपालन क्षेत्रको पहिलो भाषा र सीप परीक्षण परीक्षा वैशाख २९ देखि जेठ १३ सम्म तथा दोस्रो परीक्षा जेठ २४ देखि असार १६ सम्म हुने आज प्रकाशित सूचनामा जनाइएको छ । यस्तै उत्पादन क्षेत्रको पहिलो भाषा परीक्षा तथा सीप परीक्षण परीक्षा असार २० देखि भदौ १० र दोस्रो परीक्षा भदौ १६ देखि असोज २१ सम्म हुनेछ ।
उत्पादन क्षेत्रमा पढाइ र सुनाइ गरी एक सय पूर्णांकको परीक्षामा उत्तीर्ण हुन कम्तिमा ५५ अंक र कृषि क्षेत्रमा जान चाहनेले कम्तिमा ३६ अंक ल्याउनु पर्नेछ । परीक्षाको शुल्क २४ डलर तोकिएको छ भने परीक्षा केन्द्र र परीक्षा समय पछि जानकारी दिइने जनाइएको छ ।
Categorized in राष्ट्रिय