कीर्तिपुरका स्वबासीहरुलाई लालपूर्जा वितरण
SamacharDesk | २०७८ चैत्र २, बुधबार

सरकारले कीर्तिपुर ५ वडा पांगाको खाःचो बस्तिका स्वबासीलाई जग्गा धनी प्रमाण पत्र लालपूर्जा वितरण गरेको छ ।
२०१९ सालको जग्गा नापजाँच ऐनपछि ब्लक नापी भई हालसम्म ब्लकमै रहेका जग्गाको सरकारले पुनः कित्ता नाप गरि मंगलबार लालपुर्जा वितरण गरिएको हो । नापी भएर अहिलेसम्म ब्लकमा रहेका ३६ वटा कित्ताका ३२ स्थानीय घर परिवारलाई भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले लालपुर्जा वितरण गर्नुभएको हो ।
लालपूर्जा वितरण कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले भूमीहिन नागरिकलाई जमिन उपलब्ध गराउने पहिलो प्राथमिता रहेको बताउनु भयो । उहाँले भमिहिन नागरिकलाई जग्गा दिने चार महिनाको अभियानमा १५ हजार भुमिहिन नागरिकलाई लालपूर्जा वितरण गरि सकिएको बताउनु भयो । मन्त्री श्रेष्ठले राष्ट्रिय भुमि आयोग मार्फत अहिले रहेको भुमिहिन समस्या सदाका लागि अन्त्य गर्ने गरी काम गरिरहेको बताउनु भयो । उहाँले किर्तिपुरका स्वबासीका जनतालाई यो वर्षको कार्यक्रम नै नभएको बजेट तथा कर्मचारी अभावका बीच तत्काल जग्गा नापी गरेर भुमिहिन जनतालाई जग्गाको लालपूर्जा वितरण गरिएको बताउनु भयो ।
मन्त्री श्रेष्ठले जग्गा पूर्जा वितरण गर्न खोज्यो भने गर्न सकिने रहेछ भन्ने एउटा उदाहरण भएको पनि बताउनु भयो । उहाँले सरकारले सहिद, बेपता परिवार, हलिया, कमैया, कम्लरी, हरुवा, चरुवा लगायत सिमान्तकृत समुदायका लागि नापी तालिमको व्यवस्था गर्ने बताउनु भयो । पुर्जा वितरण कार्यक्रममा काठमाडौं १० नं. क्षेत्रका सांसद राजेन्द्र कुमार केसी, प्रदेश सभा सांसद पुकार महर्जन, कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन, उपमेयर सरस्वती रिजाल खड्कालगायत ५ वडाका पदाधिकारीहरू नापी विभाग, नापी कार्यालय, कलंकीका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
Categorized in राष्ट्रिय