महानगरको राजस्वमा वृद्धि
SamacharDesk | २०८० आषाढ ५, मंगलबार

काठमाडौं महानरपालिकाको आम्दानी उल्लेख्य वृद्धि भएको छ ।
उसले आर्थिक वर्षको ११ महिनामा रु आठ अर्ब राजस्व संकलन गरेको छ । त्यस्तै आन्तरिक आय, राजस्व बाँडफाँट र आन्तरिक अनुदान गरी २०७९/८० मा जम्मा २९ करोड ९५ लाख ५९ हजार दुई सय ७८ राजस्व संकलन गरेको महानगरले जनाएको छ । यो रकम राजस्व लक्ष्यको ७९ प्रतिशत हो ।
महानगरको राजस्व विभागका अनुसार आव २०७८/७९ मा महानगरले रु तीन अर्ब ७२ करोडमात्रै आन्तरिक आय सङ्कलन भएको थियो । महानगरपालिकाले आन्तरिक आयतर्फ घरबहाल करमा रु एक अर्ब ९२ करोड १२ लाख ८० हजार राजस्व सङ्कलन गरेको छ ।
चालु आवमा महानगरपालिकाले यो शीर्षकमा रु दुई अर्ब राजस्व उठाउने लक्ष्य राखेको थियो । यस्तै सम्पत्ति करमा रु ९१ करोड ३३ लाख राजस्व सङ्कलन गरेको छ ।
जुन अघिल्लो आवको भन्दा रु १२ करोडले बढी भएको जनाइएको छ । महानगरपालिकाले चालु आवका लागि राजस्व लक्ष्य रु १० अर्ब ४२ करोड ९५ लाख राखेको थियो ।
यसमध्ये सबैभन्दा धेरै प्रगति महानगरले आन्तरिक आयतर्फ गरेको छ । राजस्व सङ्कलनमध्ये महानगरपालिकाले आन्तरिक आयतर्फ ९८ दशमलव ८७ प्रतिशत हासिल गरेको जनाएको छ ।
महानगरपालिका रु चार अर्ब ८५ करोड आन्तरिक आयको राजस्व लक्ष्यमध्ये रु चार अर्ब ७७ करोड उठाएको हो । जुन अघिल्लो आवको भन्दा एक अर्ब बढी भएको विभागले जनाएको छ ।
महानगरलाई राजस्व लक्ष्यमा पुग्न राजस्व बाँडफाँट भएर आउने रकमले असर परेको देखिएको छ । यसैगरी महानगरले बाँडफाँटबाट प्राप्त हुने राजस्वबाट रु एक अर्ब ५५ करोड ८९ लाख जम्मा गरेको छ ।
राजस्व बाँडफाँट पाउनुपर्नेमा महानगरपालिकालाई प्राप्त भएको अघिल्लो आवको भन्दा झन्डै रु एक अर्बले कमी भएको देखिन्छ । गत आव २०७८/७९ मा राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम रु एक अर्ब ७५ करोड ५४ लाख थियो, जनु एक सय छ प्रतिशत रहेको थियो ।
तर यो पटक लक्ष्यको जम्मा ४५ प्रतिशतमात्रै महानगरलाई बाँडफाँट भएको हो । गत आवमा रु दुई अर्ब ५८ करोड २५ लाख राजस्व बाँडफाँटबाट आउने रकम लक्ष्य राखेकामा जेठ मसान्तसम्म रु दुई अर्ब ७५ करोड ५४ लाख अर्थात् एक सय छ प्रतिशत बाँडफाँट भएको थियो ।
तर चालु आव तीन अर्ब ४१ करोड ३१ लाख लक्ष्य राखेकामा रु एक अर्ब ५५ करोड ८९ लाखमात्रै उठेको हो ।
Categorized in स्थानीय