आज कुकुर तिहार तथा साँझ लक्ष्मीपूजा, नेवार समुदायहरुको लक्ष्मीपूजा भोली
SamacharDesk | २०७९ कार्तिक ७, सोमबार

तिहारको तेस्रो दिन आज आज्ञापालक र सुरक्षामा भरपर्दो जनावरको रुपमा लिने कुकुरको पूजाआजा गरी मनाईंदैछ ।
कुकुर तिहार यमपञ्चकको दोस्रो दिन पर्ने भए पनि यो वर्ष तिथि घटबढका कारण तेस्रो दिन कुकुर तिहार परेको हो ।
कात्तिक कृष्ण चतुर्दशी अर्थात आजको दिनलाई नरक चतुर्दशी पनि भन्ने गरिन्छ । आज विहान नदी तथा तलाउमा गई स्नान गर्ने र घर आगन सरसफाई गरी नरक फाल्ने गरिन्छ ।
त्यसपछि घर घरमा कुकुरको पूजा गरिन्छ भने कुकुरलाई पूजाआज गरी मिठामिठा खान दिने चलन छ । यसो गर्दा मृत्युपछि यमलोक जाँदा यमराजको द्वारपालको रुपमा रहने श्याम र सबल नामकका कुकुरले बाटो छाडिदिने शास्त्रीय ब्याख्या रहेको छ ।
वैवश्वत मन्वन्तर कुलमा जन्मिएको कुकुरले धर्मराज युथिष्ठिरलार्य स्वर्ग जाँदा समेत साथ दिएको पनि शास्त्रीय कथन रहेको छ । यस पटक आजै साँझ घर घरमा धनधान्यकी देवी महालक्ष्मीको पूजा पनि गर्नुपर्ने पंचाङ्ग निणार्यक समितिले जनाएको छ ।
सामान्यतः औंसीको राती महालक्ष्मी पूजा गर्ने गरिन्छ । तर यो वर्ष आजै अपरान्हपछि औंसी शुरु हुने र रातभर औंसी पनि आजै रहने भएकाले आज साँझ नै लक्ष्मीपूजा गर्नुपर्ने विज्ञहरुको सुझाव छ ।
भोलि सूर्य ग्रहण समेत रहेको र भोलि अपरान्हपछि औंसी तिथि सकिने भएकाले आज नै महालक्ष्मी पूजा गर्नु उत्तम हुने जनाइएको छ । तर नेवार समुदायहरुले भने आज कुकुर पूजा गरी भोलि मात्रा लक्ष्मीपूजा गर्ने भएको छ ।
नेवार समुदायहरुले भोलि ८ गते लक्ष्मी पूजा, ९ गते म्ह पूजा तथा नेपाल सम्वत र १० गते भाइटिका गर्ने भएको छ ।
Categorized in राष्ट्रिय