भारतका विदेश सचिव क्वात्रा नेपालमा
SamacharDesk | २०७९ फाल्गुण १, सोमबार

परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा भारतका विदेश सचिव विनयमोहन क्वात्रा सोमवार नेपाल आइपुग्नु भएको छ ।
उनले फागुन १ देखि २ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । क्वात्राले नेपालका परराष्ट्र सचिव भरतराज पौड्यालसँग छलफल गर्नुहुनेछ ।
भ्रमणका क्रममा सचिवद्वय पौड्याल र क्वात्राले नेपाल र भारतबिचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल गर्नेछन् ।
नेपाल र भारतबिच सिमा लगायतका विवाद समाधानका लागि दुई देशका सचिवस्तरीय स्थायी संयन्त्रको व्यवस्था छ । सोही संयन्त्रको बैठक १७ महिनापछि आज बस्न लागेको हो ।
आजको बैठकमा दुई देशबीचको कनेक्टिभिटी, बिद्युत् व्यापार, पर्यटन, कृषि, स्वास्थ्य र संस्कृति लगायत द्विपक्षीय सहकार्यका आधा दर्जन विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
तर लिपुलेक, लिम्पियाधुरा, कालापानी, सुस्ता लगायतका सिमा विवादमा भने छलफल हुने संभावना न्युन छ ।
विदेश सचिवको कार्यभार सम्हालेपछिको यो उनको पहिलो नेपाल भ्रमण हो । दुई देशबिचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकताअनुरुप यो भ्रमण हुन लागेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
नेपाल भ्रमणका क्रममा भारतीय विदेश सचिव क्वात्राले आजै परराष्ट्रमन्त्री बिमला राईसँग शिष्टाचार भेट गर्नुहुनेछ ।
त्यसपछि उहाँले आजै दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट्ने कार्यक्रम छ । क्वात्राले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारत भ्रमणको औपचारिक निमन्त्रण दिने बुझिएको छ ।
यस्तै क्वात्राले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेर बहादुर देउवा लगायत नेताहरुसँग पनि भेट्नु हुनेछ । क्वात्रा भोलि स्वदेश फर्कनु हुनेछ ।
