ललितपुरमा मणिकेशवनारायणको जन्मदिन मनाईयो
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ जेठ ३१, मंगलबार

आज जेष्ठ शुक्ल पुर्णिमा, लतिलपुर मंगलबजार दरवारमा अवस्थित मणिकेशव नारायणको बुसादँ अर्थात बर्षबर्धन पूजा सम्पन्न भएको छ ।
मंगलबार ललितपुर दरबार क्षेत्रको केशव नारायण चोकमा रहेको केशव नारायण चोकमा बर्षबर्धन पूजा गरिएको हो ।
बर्षबर्धन पूजाको अवसरमा केशव नारायण चोकमा कुशकण्डीका यज्ञ गरिएको थियो ।साथै नारायणको मन्दिरमा बिष्णु रुद्रि पूजा गरिएको थियो ।
यस क्रममा मणिकेशवनारायण पुजारी माधवश्याम शर्माले कुशकण्डीका यज्ञ गरेका थिए भने बिष्णु रुद्रि पूजा शिवेश शर्माले गरे । साथै विष्णु सहस्रनाम पाठ रविश्याम शर्माले गरे ।
लगभग ५० बर्षसम्म रोकिएको बर्षबर्धन पूजा यस वर्षबाट सुरु गरिएको पूजारी माधवश्याम शर्माले बताए । ‘२२ सालतिर क्रान्तिको समयमा केशव नारायणको चोकमा आन्दोलनकारीहरु आएर बसेको र यस अवस्थामा पूजा आदि गर्न अप्ठ्यारो हुँदा पूजा बन्द गरिएको मेरो बुबाले बताउनुभएको थियो’ शर्माले भने ।
गत २०७८ साल कार्तिक २९ गते हरिबोधनी एकादशीबाट मणिकेशवनारायणको नित्य पूजा सुरु गरिएको थियो भने आजबाट वर्षवर्धन पूजा पनि गरिएको थियो ।
अब हरेक वर्ष आजकै दिनमा वर्षवर्धन पूजा निरन्तर हुने शर्माले बताए । देवता वा मन्दिरको स्थापना भएको दिनमा वर्षवर्धन पूजा गर्ने गरिन्छ ।
मणिकेशवनारायण कहिले स्थापना कहिले र कसले गरे भनेर यकिन साथ भन्न सकिने अवस्था नभएको पाटन संग्रहालयका अधिकृत सुरेश लाखे बताउनु हुन्छ ।
