arin enterprises

आज अन्तिम साउने सोमबार, शिवको पूजा अर्चना हुँदै

SamacharDesk – कल्चर ब्यूराे | २०७८ श्रावण ३२, सोमबार

आज साउन महिनाको अन्तिम सोमबार, साउन महिनाको सोमबार महादेवको प्रिय दिनको रुपमा लिइन्छ । हरेक बारको एक एक स्वामी रहने र सोमबारका स्वामी महादेव भएको धार्मिक विश्वास छ ।

आज साउनको अन्तिम सोमबार भएको हुँदा देशैभरी ठुलो संख्यामा महिलाहरु व्रत पूजा गरिरहेका छन् । कोरोना महामारीको अवस्थामा पनि विना संक्रमणको पर्वाह, शिवालयहरुमा महिलाहरुको भीड नै लागेको छ ।

साउन महिनालाई शिवको पूजा, उपासना गर्ने महिनाको रुपमा लिइन्छ । शिवको महिनामा शिवकै बार सोमबारको ठुलो महत्व रहने विश्वास रहेको ।

धार्मिक मान्यता अनुसार पार्वतीले महादेव वर पाउन साउन महिनामै कठोर निराहार व्रत वसेकी थिइन् ।

साउने सोमबारमा विशेष गरी महिलाहरु महादेवको व्रत लिइ, पूजा अर्चना गर्ने गर्छन् । विवाहित महिलाहरु आफ्ना पतिको दीर्घायूको कामना गर्दै महादेवको व्रत वस्छन् भने अविवाहित महिलाहरु महादेव जस्तै पति पाउने कामना गर्दछन् ।

साउने सोमबारमा महिलाहरु हरियो रंगकै वस्त्र र चुरा लगाई, हातमा मेहेन्दि पनि लगाउँदै आफ्नो साजसज्जा गर्ने गर्छन् ।

साउने सोमबारको व्रत सुर्योदयबाट शुरु भई तेश्रो प्रहरसम्म रहने गर्दछ । तेश्रो प्रहरमा आएर शिवकै पूजा अर्चना गर्दै कथा श्रवण गर्नुपर्ने मान्यता छ भने एक छाक सात्विक भोजन गरिन्छ ।

साउन महिनामा अत्यधिक वर्षा भई बाढिपहिरो गइरहने, दुर्घटना, रोगव्याधिको सम्भावना पनि बढि रहने हुनाले यसप्रकारका प्रकोपबाट मुक्तिको कामना गर्दै पनि साउन महिनामा महादेवको पूजाअर्चना गर्ने गरिन्छ ।

साउनमा रुद्रि लगाउने चलन पनि रहेको छ ।

Categorized in संस्कृति