लक्ष्मीको पूजा गरेर लक्ष्मी पूजा मनाईँदै
SamacharDesk – बिराज | २०७८ कार्तिक १८, बिहिबार

कार्तिक कृष्ण औंशीको दिन, आज घरघरमा लक्ष्मीको पूजा गरी लक्ष्मी पूजा मनाईदैछ । नेपालीहरुको दोश्रो महान चाड तिहारको आज पहिलो दिन र यमपञ्चकको तेश्रो दिन आज धनधान्यकी देवी लक्ष्मीको पूजा गर्दै पर्व मनाईँदैछ ।
आज सम्पूर्ण घरमा सरसफाई गरेर लिपपोत गर्दै घरलाई सफा र शुद्ध बनाएर साँझमा लक्ष्मी भित्र्याउने गरिन्छ । फोहर भएको घरमा लक्ष्मीले बास गर्दैनन् भन्ने जनविश्वासको आधारमा आज सम्पूर्ण घरलाई विशेष किसिमले सरसफाइ गरिन्छ ।
साथमा साँझमा दियो बालेर दिपावली पनि गरिन्छ भने झिलिमिलि बत्ती पनि बाल्ने गरिन्छ ।
घरको पिँढीबाट लिपेर घरको मूलढोका हुँदै तानेर लक्ष्मी पूजा गर्ने कोठासम्म पुर्याइन्छ । प्रायले घरको भण्डार अथवा ढुकुटी कोठामा लक्ष्मी पूजा गर्ने गर्छन् ।
दियो बालेर पूजा गर्ने कोठालाई झिलिमिलि बनाई लक्ष्मीको प्रतिमा वा तस्वीरको साथमा धान, चामल आदि समेत राखेर कलश स्थापना गरी लक्ष्मी पूजा गर्ने प्रचलन रहेको छ ।
नेवार समाजमा भने कुबेर र ख्याकको साथमा रहेकी चित्रकारले हातैले लेखेको लक्ष्मीको पूजा गर्ने परम्परा रहेको छ ।
गाईलाई लक्ष्मीको प्रतिरुप मान्दै आज गाईलाई पनि पूजा गर्ने गरिन्छ ।
आजको रातलाई सुखरात्रीको रुपमा लिइन्छ । वर्षमा चारवटा रातलाई निकै महत्वपूर्ण मानिन्छ । कृष्णाष्टमीको मोहरात्री, दशैंको कालरात्री, तिहारको सुखरात्री र शिवरात्रीलाई निकै महत्वपूर्ण रातको रुपमा लिइन्छ ।
आजै साँझ चेलिबेटीहरु भेला भई ‘भैलिनी आइन आँगन’ भनेर भत्याउँदै भैली माग्ने परम्परा पनि रहेको छ । भलो शब्दको अपभ्रम्स भई भैली भएको भनाई रहेको छ । सबैको भलोको कामना गर्दै भत्याउने भाका नै भैली हो भनेर विद्वानहरुले भन्ने गरेका छन् ।
Categorized in संस्कृति