arin enterprises

जसपामा ठाकुरलगायतका नेता निष्काशित

SamacharDesk – बिराज | २०७८ जेठ १८, मंगलबार

जनता समाजवादी पार्टीले पार्टी अध्यक्ष महन्थ ठाकुरलगायतका नेतालाई पार्टीको सदस्यसमेत नरहने गरी निष्काशन गरेको छ ।

आज बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको वैठकले ठाकुरको साथै राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीबाट निष्काशन गरेको हो ।

पार्टीले प्रेस विज्ञप्ती जारी गर्दै पार्टी प्रक्रियाको गम्भीर उल्लंघन गर्ने गम्भीर गलती दोहोरिएपछि निष्काशन गरिएको बताएको छ ।

‘२०७८।०२११ गते पहिलो पटक तीन दिने र मिति २०७८।०२।१५ गते दोश्रो पटक २४ घण्टे स्पष्टिकरण पत्र पठाएको हो । तर कुनै प्रतिउत्तर नदिने मात्र हैन, पार्टी सम्पर्कमै नआउने र पार्टी प्रक्रियाको अवज्ञा गर्ने गम्भीर गल्ती पुनश्च दोहोरियो’ प्रचार विभाग प्रमुख डम्बर खतिवडाबाट हस्ताक्षरित विज्ञप्तीमा लेखिएको छ ।

‘महन्थ ठाकुर लगायत उपरोक्त नेताहरुले ओली सरकारले मधेसका मागमुद्धा संवोधन गर्यो भन्ने भ्रम छर्दै संकटग्रस्त ओली सरकारलाई काँध थाप्ने र प्रतिगमनको मतियार बन्ने काम गरे । बारम्बार आग्रह गर्दा पनि गल्ति सच्याउने काम भएन’ विज्ञप्तीमा थप भनिएको छ ।

पार्टी एकताको मर्म र भावनाप्रति पार्टी र नेतृत्व अहिले पनि उत्तिकै गम्भीर भएको र पार्टी एकढिक्का रहेको दावी गरिएको छ । 

Categorized in राजनीति