arin enterprises

सुपथ मूल्यका पसलहरु संचालनमा

SamacharDesk | २०८० आश्विन २१, आइतबार

सरकारले आजदेखि दशैं, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरी सुपथ मूल्यको पसल संचालनमा ल्याएको छ ।

चाडवाडको समयमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आइतबारदेखि देशभर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।

सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट्र ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थानले आगामी मंसिर ३ गतेसम्म सहुलियत पसल सञ्चालनमा गर्नेछन्। यसका लागि काठमाडौं उपत्यकामा रहेका आठ बिक्री केन्द्र र तीन घुम्ती पसल सहित ३५ स्थानमा बिक्रीस्थल तोकिएको छ ।

सहुलियत मूल्य पसल सञ्चालनका लागि सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई दुई करोड ३२ लाख बजेट छुट्याएको छ । साल्ट ट्रेडिङमार्फत बिक्री हुने सामानमा सहुलियत दिन सरकारले एक करोड रुपैयाँ छुट्याएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनले चिनी प्रतिकिलो ९७ रुपैयाँमा बिक्री गर्नेछ भने बजार मूल्यको तुलनामा नुनमा प्रतिकिलो दुई र तेल तथा चिउरामा प्रतिकिलो सात रुपैयाँ छुट दिनेछ । दूग्ध विकास संस्थानले घिउमा प्रतिकिलो २०, पनिरमा प्रतिदुई सय ग्राममा २० रुपैयाँ छुट दिनेछ ।

काठमाडौं, ललितपुर, भक्तपुर र राजधानीबाहिर मोरङ, झापा, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुङ्गा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम–पूर्व र रुकुम–पश्चिममा सुपथ पसल सञ्चालन हुनेछ।

Categorized in बिजनेस