कोरोना नियन्त्रणलाई प्राथमिकता दिन मदनकृष्णको सरकारलाई आग्रह
SamacharDesk – बिराज | २०७८ जेठ १८, मंगलबार

हास्य सम्राटसमेत भनिने वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले आफुले कोरोनारुपी विषलाई मज्जाले पचाएको बताएका छन् ।
कोरोना संक्रमित भएपछि उपचाररत वरिष्ठ कलाकार श्रेष्ठले आफ्नो फेसबुक पेजमा स्टाटस अपडेट गर्दै यद्यपि आफ्नो कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ भने आइनसकेको बताएका छन् ।
हिजो गरिएको पिसिआर परिक्षण गराउँदा उनको परिवारमा अन्य सबैको रिपोर्ट नेगेटिभ आएको तर आफ्नोमा अलि पोजेटिभ बाँकि रहेको देखाएको श्रेष्ठले बताएका छन् ।
‘डक्टरहरुको भनाई अनुसार मेरो शरिरमा भएका कोरोनाको भाईरसहरु सबै मरिसकेका छन, अब खालि ती मरेका भाईरसका लाशहरु मात्र बाकी छन । त्यो बाँकि हुन्जेल पनि मेशिनले पोजेटीभ नै देखाउँछ । त्यस्ले केहि फरक पर्दैन, केहि दिन पछि त्यो पनि आफै जान्छ भनेका छन’ श्रेष्ठले भनेका छन् ।
अक्सिजनमा कमी देखिएपछि उनलाई गत बैसाख २२ गते बुधबार दोश्रो पटक मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । आफु एक हप्ता अघि अस्पतालबाट डिस्चार्ज भई घर आएको पनि श्रेष्ठले उक्त पोष्टमार्फत जानकारी गराएका छन् ।
जहिले पनि सबैलाई हसाँइरहने श्रेष्ठले आफुलाई कोरोना भाईरसले दिएको सास्तीलाई पनि ठट्यौली पारामै प्रस्तुत गरेका छन् ।
‘कोरोनाले मलाई पछार्न त नराम्रै संगै पछार्यो। पछार्यो मात्र हैन अझ लछार्यो र हस्पिटलमा लगेर मलाई बेस्कन बजार्यो्, ओर्कायो, फर्कायो, थर्काउनु थर्कायो बेला बेलामा तर्सायो पनि, बलियो चाहिँ निक्कै बलियो रहेछ बजिया ...’ श्रेष्ठ लेख्छन् ।
उनी अगाडी अझै थप्छन्, ‘पछि कोरोना आफै लुत्रक्क परेर, लाजले निहुरिएर, मेरो खुट्टा ढोगेर नमस्कार गर्दै कानसमातेर १० पल्ट उठ् बस गरेर, ह्वाँ... ह्वाँ ... रुंदै मसंग क्षमा मागेर लुसुक्क भाग्यो...’
शरिरमा अलि अलि शिथिलता अझै बाँकि रहेको त्यो पनि बिस्तारै कम हुँदै गएको श्रेष्ठ बताउँछन् । स्वस्थ्य हुँदै गर्दा पनि देशमा संक्रमण फैलिरहेको अवस्थामा मनमा पूरा खुशी भने नलागेको श्रेष्ठ बताउँछन् ।
‘सरकारले पनि यसलाई नै पहिलो प्राथमिकता दिएर, सबै तिरबाट जति सकिन्छ छिटो भ्याक्सिन बटुलेर जनतालाई भ्याक्सिन दिएर जनताको ज्यान बचाउन तिर लाग्न सम्झाउन चाहन्छु’ श्रेष्ठले सरकारलाई आग्रह गरेका छन् ।
Categorized in पेजथ्री