arin enterprises

मौलिक नाम खोज्दै मध्यपुर थिमि

SamacharDesk – केके मानन्धर | २०८० आषाढ ६, बुधबार

मध्यपुर थिमि नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुर थिमिका विभिन्न स्थानको मौलिक नामहरु अमूर्त सम्पदाको रुपमा रहेकोमा जोड दिँदै पुरानै नाम खोजेर प्रतिष्ठापन गर्नुपर्नेमा जोड दिएका छन् ।

नगरपालिकाले सम्पन्न गरेको मौलिक स्थान–नाम संकलन तथा अभिलेखिकरण प्रतिवेदन प्रस्तुतिकरण कार्यक्रममा मेयर श्रेष्ठले यस्तो जोड दिएका हुन् । स्थानीय मौलिक नामहरु मन्दिर, मठ, चैत्य, पोखरी जस्तै अमूर्त सम्पदा पनि उतिकै महत्वपूर्ण रहेकोले संरक्षण गर्नुपर्नेमा उनले जोड दिए ।

‘ई. राजेन्द्र दाइसँग एउटा भोजमा भेट हुँदा थिमिको अध्ययन र अनुसन्धान गरेको मालेकुलेको विषयमा छलफल भयो । स्थानिय सम्पदा, संस्कृति तथा जीवनशैलीको विषयमा अध्ययन गरिरहेको मालेकुले अभियानबाट प्रेरित भएर कार्यविधि नै बनाएर मौलिक नाम खोज्ने काम भइरहेको छ’ मेयर श्रेष्ठले बताए ।

पुराना नाम खोज्ने काम सकेर त्यसलाई जिआईएस सिस्टममा लाने विषयमा समेत नगर प्रमुख श्रेष्ठले प्रष्ट पारे ।

कार्यक्रममा समितिका संयोजक राजेन्द्र श्रेष्ठले प्रतिवेदन प्रस्तुत गर्नुका साथै नौ महिनाको अवधिमा समितिले गरेको उपलब्धिको विषयमा समेत प्रष्ट पारे ।

कार्यक्रममा मध्यपुर थिमिका निवर्तमान नगर प्रमुख मदनकृष्ण श्रेष्ठ, नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठ, वडा ७ का अध्यक्ष कृष्णकुमार प्रजापति, युवा राजनीतिज्ञ भुवन बागः श्रेष्ठ लगायतले नगरभित्रका पुराना नाम खोजेर प्रतिष्ठान गर्नुपर्ने आवश्यकता विषयमा चर्चा गरेका थिए ।

कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका सबै वडाध्यक्ष, निर्वाचित जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समितिका पदाधिकारी तथा समाजसेवीहरुको उपस्थिति थियो ।

Categorized in स्थानीय