महानगरले सामुदायिक विद्यालयका भाडाका सटरहरुमा ताला लगायो
SamacharDesk | २०८१ जेठ २८, सोमबार

काठमाडौँ महानगरपालिकाले सामुदायिका विद्यालयका भाडाका सटरहरुमा ताला लगाउने अभियान थालनी गरेको छ ।
महानगरपालिकाको शिक्षा विभागले हिजो ४ वटा सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ वटा सटरमा ताला लगाएको छ ।
शैक्षिक क्रियाकलापका लागि उपयोग हुनुपर्ने ठाउँ भाडामा लगाएर आय आर्जन गरेको भन्दै महानगरले ती सटरहरुमा ताला लगाएर ताला प्रधानाध्यापकहरुलाई बुझाएको छ ।
हिजो रामशाहपथमा रहेको पद्मोदय माध्यमिक विद्यालय, बागबजारमा रहेको शहिद शुक्र मावि विजय स्मारक मावि डिल्लीबजार र डिल्लीबजारस्थित पदमकन्या माविले लगाएको दर्जनौं भाडाका सटरहरु महानगरपालिकाको शिक्षा विभाग प्रमुखको सचिवालय र महानगर प्रहरी बल सहितको टोलीले विद्यालयमा पुगेर व्यावसायिक प्रयोजनमा आएका सटर तथा टहराहरुमा ताला लगाएको हो ।
यसरी ताला लगाइएका सटरहरुमध्ये पद्मोदय माध्यमिक विद्यालयका १७, सहिद शुक्र माविका २२, विजय स्मारक मावि आठ र पदमकन्या माविले भाडामा लगाएका १४ वटा सटरमा ताला लगाइएको छ ।
यसरी ताला लगाइएका सटरमा पुनः व्यावसाय चलाउन नपाईने भन्दै महानगरपालिकाले व्यावसायीहरुलाई सात दिन भित्र सामान सार्न भनेको छ ।
Categorized in स्थानीय