arin enterprises

महर्जन कम्प्लेक्स निर्माण अन्तिम चरणमा

SamacharDesk – बिराज | २०७८ मङ्सिर ५, आइतबार

काठमाडौंको नयाँ सडकस्थित महर्जन बिजनेस एसोसिएट्स प्रा.लि. को बहुचर्चित व्यापारिक भवन महर्जन कम्प्लेक्सको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

हाल यस भवनको निर्माण कार्य ९९ प्रतिशत नै सम्पन्न भएर अब केही फिनिसिङका कार्य मात्र बाँकि भएको बताइएको छ ।

एसोसिएट्सका अध्यक्ष कृष्णलाल महर्जनले भवनको निर्माण कार्यका केही छुटफुट मात्र बाँकि भई अब ओपनिङको लागि तयार भएको बताए ।

‘निर्माणको शुरुवाती चरणमा आइपरेका विभिन्न वाधाव्यवधानको साथमा दुई दुई पल्टको लकडाउनका कारण पनि केही ढिला हुन गयो । अहिले भवन तयार छ, अब चाँडै नै कम्प्लेक्सको उद्घाटन गर्नेछौं’ महर्जनले भने ।

कम्प्लेक्समा लिफ्ट, क्याप्सुल लिफ्टको साथमा एलिभेटरसमेत जडान गरिएको छ भने स्वच्छ हावाको लागि भनेर बिचमा खुल्ला ठाउँ छोडिएको छ ।

बसन्तपुर दरवार स्क्वाएरसँगै जोडिएको भवनबाट वसन्तपुरको साँस्कृतिक दृश्यको साथमा न्यूरोड, इन्द्रचोकको चहलपहलसमेतको अवलोकन गर्न सकिन्छ ।

कम्प्लेक्स पुग्ने महानुभावहरुको सुविधालाई पनि ध्यानमा राखेर सजावटमा आधुनिक र साँस्कृतिक, प्राकृतिक झलक दिन खोजेको महर्जनले बताउनुभयो ।

कम्प्लेक्समा अधिकांश स्पेश बुक भइसकेको र केही केही मात्र बाँकि भएको पनि उनले जानकारी दिए । कम्प्लेक्सको भूमिगत तल्लामा फुड कोर्ट र अन्य स्पेशमा सुनचाँदिको गहनादेखि लिएर अन्य विभिन्न पसल आदिको लागि बुक भइसकेको महर्जनले बताए ।

तत्कालीन त्रिस्टल होटल भवन २०७२ सालमा कम्पनीले खरीद गरी महर्जन कम्प्लेक्स भवनको निर्माण शुरु गरेको थियो ।

नेपालको पहिलो नियो क्लासिकल दावी गरिएको व्यापारिक भवनकाे स्वरूपलाई युनेस्कोलेसमेत बसन्तपुरको गद्दी वैठकसँग मिल्दोजुल्दो बताएको छ ।

Categorized in बिजनेस