महाशिवरात्री पर्व भव्यताका साथ मनाउने तयारी
SamacharDesk – समाचारडेस्क | २०७८ फाल्गुण १०, मंगलबार

हिन्दूहरुको महान पर्व महाशिवरात्री पर्व हर्षाेलास्सपूर्वक मनाउन त्यसको व्यवस्थापन तीव्र गतिमा भइरहेको छ ।
आज महाशिवरात्री पर्व २०७८ मूल समारोह समितिले पर्वका लागि आवश्यक सम्पूर्ण तयारी भएको जानकारी दिएको हो । पर्वका लागि सवा करोड खर्च हुने पशुपत्ति क्षेत्र विकास कोषले जानकारी दिएको छ । शिवरात्रीमा करिब १० लाख दर्शनार्थी आउने अनुमान रहेको जनाएको छ ।
पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारीस्वरुप भित्तामा भगवानका चित्र बनाउने र त्यसलाई आकर्षकरुपमा सजाउन र भगवान् शिव, पार्वतीलगायत देवीदेवताका चित्रले आकर्षक चित्र खाली भित्तामा कोर्ने जस्ता कार्य भइसकेको जानकारी दिनुभयो । त्यस्तै विभिन्न स्थानमा रङरोगन पनि गर्न थालिएको पनि जानकारी दिनुभयो ।
महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने साधुसन्तका लागि खाने, बस्ने, धुनी जगाउनेलगायत स्वागत सत्कार व्यवस्थापनका लागि गुठी संस्थानले २८ लाख ६५ हजार ३७६ रुपैयाँ माग गरेको छ । शिवरात्रिको तयारी स्वरुप पशुपतिनाथका दर्शनार्थी साधुसन्तका लागि धुनी जगाउन ३४ हजार ८०० किलो दाउराको व्यवस्था गरिएको छ । साधुसन्तलाई राममन्दिर, अन्नपूर्ण भण्डार, गोरखनाथ मन्दिरलगायत स्थानमा राख्ने तयारी गरिएको छ । नागा बाबालाई भने पशुपतिनाथको मूल मन्दिरभित्र नै बस्ने, खाने एवं धुनी जगाउने व्यवस्था गरिएको छ ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले बतास समुहले चलाइरहेको पशुपति क्षेत्रको धर्मशाला चाँडै नै सरकारको स्वामित्वमा ल्याउने बताउनुभएको छ । महाशिवरात्री पर्व २०७८ मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा मन्त्री आलेले बतास समुहलाई हटाउने सरकारको निर्णयमा सो समुहले लिएर आएको अल्पकालीन आदेश समेत अदालतले खारेज गरिसकेकाले धर्मशाला फिर्ता ल्याइने बताउनुभएको हो । विगतका प्रतिनिधिले धर्मशाला कौडीको भाउमा बेचेको भन्दै उहाँले अब त्यस्तो कदम सह्य नहुने बताउनुभयो । मन्त्री आलेले पशुपतिप्रति गिद्धे दृष्टि लगाउनेहरुको कहिल्यै कल्याण नहुने बताउनुभयो ।
Categorized in संस्कृति