arin enterprises

नृसिंह जात्राका लागि मल्ल राजालाई निमन्त्रणा दिइयो

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० आषाढ १९, मंगलबार

ललितपुर राज्यका मल्ल राजा निमन्त्रणा अर्थात ‘स्वां तः वनेगु’ कार्यक्रम सम्पन्न भएको छ ।

गुरुपूर्णिमाको दिन ललितपुरका राजोपाध्याय देव ब्राम्हणहरु ललितपुरको मंगलबजारस्थित मल्लकालीन दरवारको सुन्दरी चोकमा गई मल्ल राजालाई निमन्त्रणा ‘स्वां तःवनेगु’ अर्थात पुष्पार्पण कार्यक्रम सम्पन्न भएको हो ।

मल्ल राजालाई आउँदो जनै पुर्णिमाका दिनमा श्रावणी कर्ममा सहभागीता र नृसिंह जात्रा (उपाकलं सायाः) को निमन्त्रणाको रुपमा यस ‘स्वां तः वनेगु’ परम्परालाई लिइन्छ ।

हरेक बर्ष ललितपुरका राजोपाध्याय व्राम्हणहरुको उपाकर्म गुठीले आयोजना गर्ने नृसिंह जात्राको पालोवालाले पुष्पार्पण गर्न जाने परम्परा रहेको छ र गुठीका सदस्यहरुमा ज्येष्ठताको आधारमा जात्राको पालो दिने गरिन्छ ।

यसै अनुसार यस वर्षका पालोवाला ललितपुरको अग्निशाला निवासी गोविन्दराज राजोपाध्यायले आज मल्ल राजालाई निमन्त्रणास्वरुप पुष्पार्पण गरेका थिए ।

राजालाई पुष्पार्पण स्वरुप फुल गुच्छाको साथमा सुपारी, जनै, पैसा र फलफुल सुन्दरीचोकमा अवस्थित ढुङ्गाको खाटमा राखिएको थियो ।

ललितपुरको षटकुल अर्थात ६ वटा कुलका देव ब्राम्हणका प्रतिनिधिहरु सुन्दरी चोकमा भेला भइ स्वस्तिवाचनसमेत गर्दै पुष्पार्पण गरेका थिए ।

गुठिसंस्थानका ललितपुरका प्रमुख लछुना शर्मा र  गुठि संस्थान केन्द्रको प्रमुख किरण शाक्यले मल्ल राजाको प्रतिनिधि गर्दै निमन्त्रणा ग्रहण गरेका थिए ।

गत बर्षदेखि मल्लराजालाई मात्र नभइ राष्ट्रप्रमुख, गुठि संस्थान केन्द्रको प्रमुख, नगर प्रमुख, उपप्रमुख साथसाथै ललितपुरको सायाः क्षेत्रमा पर्ने वडाका वडाध्यक्षहरुलाई पनि निमन्त्रणा गरिएको नृसिंह जात्रा व्यवस्थापन समितिका अध्यक्ष भूषणनाथ शर्माले जानकारी दिए ।

राष्ट्रपतिलाई निमन्त्रणा दिन हिजो नै उपाकर्म गुठि व्यवस्थापन समिति र नृसिंह जात्रा व्यवस्थापन समितिका प्रतिनिधिका साथै यसपटको पालोवाला राष्ट्रपति निवासमा पुगेका थिए । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ समस्याको कारण उनका पत्नी सविता पौडेलले निमन्त्रणा ग्रहण गरेका थिए । 

ललितपुरका राजोपाध्याय ब्राम्हणहरुले  आफ्नो उपाकर्मको क्रममा भाद्र कृष्ण पञ्चमिको दिनमा नृसिंह जात्रा गर्ने गर्छन् । शान्त स्वरुपका नृसिंहको यहि जात्रासँगै ललितपुरका राजोपाध्याय ब्राम्हणहरुको उपाकर्मले पूर्णता लिने मान्यता छ ।

ललितपुरमा उपार्कर्म गुठीबाट हरेक वर्ष गर्ने नरसिंह जात्रामा पालोवालाको घरबाट अप्सरागणको साथमा लक्ष्मी, सरस्वती र प्रह्लादसहित नृसिंह निकालेर ललितपुरको सायाः क्षेत्रमा परिक्रमा गराउने गरिन्छ ।

यसलाई स्थानीय भाषामा उपाकलं सायाः पनि भनिने गरिन्छ ।

यस वर्षको जात्रा आउँदो भाद्र १८ गते हुन गइरहेको छ ।

नोट : केहि जानकारीहरु थपिएको 

Categorized in संस्कृति