arin enterprises

म्यान्चेस्टर सिटी र आर्सनल विजयी

SamacharDesk | २०७९ फाल्गुण २१, आइतबार

इंग्लीश प्रिमियर लिग फुटबलमा हिजो म्यान्चेस्टर सिटीले न्युकासल युनाइटडलाई २–० ले हरायो ।

सिटीका लागि फिल फोडेन र बर्नार्डो सिल्भाले एक एक गोल गरे । प्रिमियर लिगकै अर्को खेलमा आर्सनलले बर्नमाउथलाई ३–२ ले हराएको छ ।

गएराति आफ्नै मैदानमा भएको खेलमा ६१ मिनेटसम्म २–० ले पछि परेको अवस्था उल्टाउँदै आर्सनल ३–२ ले विजयी भयो । आर्सनलको लागि रायन नेल्सनले इन्जुरी समयको सातौं मिनेटमा निर्णायक गोल गरे ।

खेलमा बर्नमाउथका फिलिप बिलिङ र मार्को सेनेसीले सुरुवाती दुई गोल गरेका थिए । तर आर्सनलका थोमस पार्टे र बेन ह्वाइटले लगातार दुई गोल फर्काउदै आर्सनलको जितको आधार तयार गरे ।

गएराति चेल्सीले लिड्स युनाइटेडलाई १–० ले पराजित गर्यो । चेल्सीको जितमा वेस्ले फोफानाले निर्णायक गोल गरे ।

गएराति भएका अन्य खेलहरुमा एस्टन भिल्लाले क्रिष्टल प्यालेसलाई १–० ले हराउँदा वुल्भरह्याम्पटन वान्डरर्सले टोटनह्याम हट्सपरलाई १–० ले नैं पराजित गर्यो ।

गएरातिका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा २६ खेलबाट ६३ अंक जोडेको आर्सनल शिर्ष स्थानमा छ । समान खेलबाट ५८ अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा रहँदा दुई खेल कम खेलेको म्यान्चेस्टर युनाइटेड ४९ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

युनाइटेडले आज लिभरपुलसँग खेल्नेछ । यो खेल लिभरपुलको मैदान एन्फील्डमा नेपाली समय अनुसार राती सवा १० बजे सुरु हुनेछ ।

Categorized in स्पाेर्ट्स