माओवादी, नेकपा एस र राप्रपाले मेयर र उपमेयरको टुंगो लगायो
SamacharDesk | २०७९ बैशाख १०, शनिबार

स्थानीय तह निर्वाचनको लागि सत्तारुढ गठबन्धनका घटक माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले मेयर र उपमेयर पदका लागि उम्मेदवारीको टुंगो लगाएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पनि उम्मेदवारको टुंगो लगाएको छ ।
पाँच दलीय सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादी आफ्नो भागमा परेका सबै महानगर र उपमहानगरका प्रमुख तथा उपप्रमुख पदको उम्मेदवार टुंगो लगाएको छ । जसअनुसार पोखरा महानगर प्रमुख पदको उम्मेदवार धनराज आचार्यलाई बनाएको छ । आकांक्षी ६ जनाको नाम सिफारिस भए पनि पार्टीले आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
एकीकृत समाजवादीको भागमा परेको काठमाडौं महानगरपालिकाको उपप्रमुखमा रामेश्वर श्रेष्ठलाई उम्मेदवार बनाएको छ । यस्तै,एकीकृत समाजवादीको भागमा परेको हेटौँडा उपमहानगरपालिका प्रमुखमा मीना लामालाई उम्मेदवार बनाएको छ । बुटवल उपमहानगरपालिका उपप्रमुखमा चीनबहादुर गुरुङ, तुलसीपुर उपमहानगर उपप्रमुख जोगबहादुर राना र इटहरी उपमहानगरपालिका उपप्रमुखमा केशव विष्टलाई उम्मेदवार बनाएको छ ।
त्यस्तै सत्तारुढ दल माओवादी केन्द्रले पनि महानगरमा मेयर र उपमेयर १÷१ जनासहित उपमहानगरमा मेयर र उपमेयर २÷२ जना भागबण्डा पाएको थियो । माओवादी केन्द्रले आफ्नो भागमा परेको चितवनको भरतपुर महानगरको मेयरमा रेणु दाहाल र ललितपुर महानगरको उपमेयरमा बाबुराजा ब्रजाचार्यलाई उम्मेद्वार बनाएको छ ।
यस्तै, माओवादी केन्द्रले गठबन्धनबाट आफ्नो भागमा परेको बाराको जीतपुर सिमरा उपमहानगरको मेयरमा राजन पौडेल र घोराही उपमहानगर मेयरमा हेमराज शर्मालाई उम्मेदवार बनाएको छ । धनगढी उपमहानगरको उपमेयरमा शान्ति अधिकारी र धरान उपमेयरमा भने अइन्द्रविक्रम मेघा उम्मेद्वार बनाएको छ । तर, धरानको उपमेयरको औपचारिक निर्णय हुन बाँकी रहेको माओवादी केन्द्रले जनाएको छ ।
यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पनि आगामी स्थानीय तह निर्वाचनको लागि ४ वटा महानगरको उम्मेद्वारी टुंगो लगाएको छ । ६ मध्ये ४ महानगरको उम्मेदवार टुंगो लगाएको राप्रपाले काठमाडौं महानगर मदनदास श्रेष्ठ, ललितपुर अष्ट महर्जन, वीरगंज गिरिश गिरी र पोखरामा शंकर खराललाई मेयर पदको उमेदवार बनाएको हो ।
त्यस्तै, राप्रपाले उप मेयरको पनि टुंगो लगाएको छ । जसअनुसार काठमाडौं विनिता मगैया, ललितपुर स्वर्णिमा शाक्य, वीरगञ्ज बिना जयसवाल र पोखरामा रञ्जना सेनलाई उम्मेद्वार बनाएको छ । बाँकी २ विराटनगर र भरतपुर महानगरको टुंगो लगाउन बाँकी छ ।
Categorized in राजनीति