आमाको सम्मानमा आज मातृऔसी मनाईँदै
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख २८, मंगलबार

आमा –एउटा यस्तो शब्द हो यो, जसको वर्णन गर्नका जति शब्द खर्च गरे पनि सम्पूर्णता लेख्न सकिन्न ।
आज आमाको लागि विशेष दिन । आज मातृ औंसी अर्थात आमाको मुख हेर्ने दिन ।
हरेक वर्षको बैशाख कृष्ण औँसीमा आमाको मुख हेर्ने प्रचलन चलिआएको छ । आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान प्रकट गरिने दिन भएकोले यस दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ ।
आज जन्म दिने आमा प्रती श्रद्धा, भक्तिभाव पोख्दै र आमालाई बिभिन्न उपहार, मिठाई आदि उपहार दिइ खुशी बनाई मनाइन्छ ।
आफूलाई नौ महिनासम्म पेटमा बोकेर सृष्टि देखाइदिने आमासँगै सधैं बस्न कसलाई रहर नहोला तर विभिन्न बाध्यता कारण सधैं यस्तो हुन सक्दैन ।
छोरीबेटीहरु बिवाह गरेर आफ्नो श्रीमानको घर जाँदा आमालाई छोडेर जानुपर्ने परम्परा नै छ । त्यस्तै छोराहरु पनि कामको सिलसिलामा, पढाईको सिलसिलामा बाहिर बस्नुपर्ने स्थिती रहन्छ ।
यस्तोमा आमाप्रति आफ्नो आदर, श्रद्धा हरेक दिन व्यक्त गरिरहन नसकेपनि कम से कम वर्षको एक दिन मातृ औंशीकै दिनलाई आमाप्रति समर्पित गरिन्छ ।
त्यस्तैै दिवंगत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न वैशाख कृष्ण औँसीमा काठमाडौँको मातातीर्थमा ठूलो मेला लाग्ने गर्दछ ।
उक्त तीर्थस्थित कुण्डमा दर्शन गरेमा दिवंगत आमाको अनुहार देखिने र छोराछोरीहरु आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने जनविश्वास रही आएको छ ।
श्री स्वस्थानी व्रतकथाअनुसार यस तीर्थमा सतीदेवीको अङ्ग पतन भइ मातुलेश्वर महादेवको उत्पत्ति भएको थियो । उक्त स्थानमा सके प्रत्येक वर्ष नसके एक पटक मात्र भएपनि शास्त्रीय विधिबाट तर्पण गरे अक्षय पुण्य प्राप्त भई मृत आमाले मोक्ष पाउने तथा सन्तानले जीवनभर सुख पाउने विश्वास गरिन्छ ।
यसै दिन भक्तपुरका नेवार समुदायले भक्तपुरको हनुमानघाटमा गई आमाको सम्झनामा श्राद्ध गरी तर्पण दिने प्रचलन छ ।
गएको बष झैं यो वर्ष पनि कोरोना संक्रमणबाट जोगिन देशमा निषेधाज्ञा आदेश जारी छ । आमासँगै हुनेले उपलब्ध भएका केही सामग्रीहरु कोसेली दिँदै आमाको मुख हेर्नेछन् ।
तर कति त आमाभन्दा टाढा छन् होला । विशेष गरी बिहे भइसकेकी छोरीबेटीलाई आज आमाको मुख हेर्न समस्या नै भएको छ ।
अहिलेको अवस्थामा आमाको मुख हेर्न जाँदा संक्रमण पो लिएर गइन्छ कि भन्नेतर्फ विचार पुर्याउनु पनि आवश्यक छ ।
यसै कारण विज्ञान र प्रविधिको विकास भएको आजको यूगमा भर्च्युअल्ली आमाको मुख हेर्नका लागि अनलाइन प्रविधि एउटा राम्रो माध्यम बनेको छ ।
Categorized in संस्कृति