arin enterprises

स्वास्थ्य मापदण्ड पालना गर्न मेयर शाक्यको आग्रह

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ बैशाख १९, आइतबार

काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले सरकारले जारी गरेका स्वास्थ्य मापदण्डलाई नागरिक दायित्व ठानेर पालना गर्न सबैमा आग्रह गर्नुभएको छ ।

महानगरवासीका नाममा अपील जारी गर्दै महानगर प्रमुख शाक्यले स्वास्थ्य मापदण्डको पालना गरे मात्र आफू र परिवारलाई बचाउन सकिने बताउनुभएको छ ।

देशभरिकै नागरिकको साथमा विदेशी नागरिकहरूकोसमेत आवतजावत भइरहने राजधानी काठमाडौंमा कोभिड–१९ को संक्रमण द्रुत गतिमा फैलिन सक्ने खतरालाई मध्यनजर गरी सबैले सजगता अपनाउनु पर्ने आवश्यकता शाक्यले औंल्याउनुभयो ।

‘संक्रमण देखिनुभन्दा अघि नै हामी सबै नागरिकले सजगता अपनाउने हो भने धेरै हदसम्म यो महामारीलाई न्यूनीकरण गर्न सकिन्छ । बढी भीडभाड हुने ठाउँमा संक्रमण छिटो फैलिने भएकाले सरकारले जारी गरेको सूचनालाई आधार मानी सकेसम्म बढी सचेतना अपनाउन तथा स्वास्थ्य सम्बन्धी तोकिएको मापदण्ड परिपालन गर्न गराउनु हुन हार्दिक अपिल गर्दछु’ शाक्यले अपील गर्नुभएको छ ।

धार्मिक, साँस्कृतिक लगायतका सार्वजनिक ठाउँमा एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै भाइरस सर्ने भएकोले अहिलेका लागि धार्मिक स्थलहरूमा गएर भीड गर्नुभन्दा आफ्नो आस्थाअनुरुप घरमै बसेर नित्य पूजा गर्न पनि शाक्यले आग्रह गर्नुभएको छ ।

उहाँले अपिलमा पूजाआजा, सामाजिक कार्यक्रम, भोज जस्ता संस्कारजन्य कार्यक्रम भीडभाड गरी नमनाउन अपनि नुरोध गर्नुभएको छ ।

दोस्रो लहरको रुपमा फैलिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा सबैले आ–आफ्नो स्थानबाट दायित्व निर्वाह गर्ने हो भने छिटै नै महामारीमाथि विजय पाउन सकिने विश्वास शाक्यले पोख्नुभएको छ ।

महानगरवासीहरुमा कोभिडबाहेकका कुनै स्वास्थ्य सम्बन्धि समस्या आएमा अस्पताल जानु पर्ने भए हटलाइन टेलिफोन नं. ११८० मोवाईल नं. ९८४९८५६६७२, ९८४९६०५४७ र ९८४९८५६६७१ मा कल गर्न उहाँले आग्रह गर्नुभयो । साथै कोभिडका बिरामीले अस्पताल जानु पर्ने भएमा निःशुल्क एम्बुलेन्स सेवा १०२ मा सम्पर्क गर्नसकिने पनि प्रमुख शाक्यले जानकारी दिनुभयो ।

Categorized in स्थानीय