arin enterprises

‘नेपाल मास्क अभियान’ ले धरहराको गरिमा बढायो : मेयर शाक्य

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ श्रावण २५, सोमबार

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ‘नेपाल मास्क अभियान’ ले धरहराको गरिमालाई बढाएको विचार राख्नुभएको छ ।

आज वडा नम्बर–५ को हाँडीगाउँमा नरबुद्धपार्कको शिलान्यास कार्यक्रममा बोल्दै प्रमुख शाक्यले धरहराबाट सरकारले मास्क अभियान थालेको बताउँदै यस्तो विचार राख्नुभएको हो ।

मास्क अभियानले धरहराको महत्व सिङ्गो देशवासी र विदेशीहरुले पनि थाहा पाएको मेयर शाक्यको भनाई थियो । ‘धरहरा हाम्रै कार्यकालमा बनाउने भनेका थियौँ, जुन अहिले बनिसकेको छ, पार्किङलगायतको काम बाँकी छ’ मेयर शाक्यले भन्नुभयो ।

सरकारले ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नाराका साथ शनिबार साँझ धरहरामा ‘म जिम्मवार नागरिक’ ह्यासट्याग लेखेर अभियानको प्रचार सुरु गरेको थियो ।

कमलपोखरी पुननिर्माणको काम पनि अन्तिम चरणमा पुगेको जानकारी दिँदै शाक्यले कमलपोखरी पुनर्निर्माण सम्पन्न भएपछि रानीपोखरी भन्दा सुन्दर देखिने दावी गर्नुभयो ।

उहाँले केही दिन अघि बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेविको बिस्कुट कारखानामा भएको आगलागी नियन्त्रणमा हेलिकोप्टरले रानीपोखरीको पानी प्रयोग गरेको स्मरण गराउँदै शहरका बिचका त्यस्ता पोखरीहरुको महत्व थप बढेको बताउनुभयो ।

Categorized in स्थानीय