arin enterprises

नेपाल कोरिया मैत्री अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

SamacharDesk – समाचार श्राेत : बाबुकाजी साँछेँ श्रेष्ठ | २०७८ जेठ १७, सोमबार

मध्यपुर थिमिस्थित नेपाल कोरिया मैत्री अस्पताललाई वान लभ वान वर्ल्ड नामक संस्ंथाले विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

कोभिड १९ महामारी नियन्त्रण र रोकथाममा केही टेवा दिन बिरामीहरुलाई आवश्यक हुने सामग्री अस्पताललाई सहयोग गरेको संस्थाले जनाएको छ ।

आज संस्थाका कार्यकारी निर्देशक ऋतु श्रेष्ठले मध्यपुर थिमि नगरपालिका प्रमुख साथै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मदनसुन्दर श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो ।

संस्थाले अस्पताललाई सर्जिकल ग्लोभ्स ४ सय थान, अक्सिमिटर ५ थान, आइभि स्ट्यान्ड ९ थान, कमोड ५ थान, नेबुलाइजर मेसीन ३ थान सहयोग गरेको छ ।

साथै बिरामीलाई राख्ने खाटको तन्ना २५ थान, तकिया २५ थान ह्वीलचियर ५ थान, तौल मेसीन २ थना, युरिनल ५ थान, बेड प्यान ५ थान र ठुलो बाल्टिन ५ थान पनि संस्थाले अस्पताललाई दिएको छ ।

सो अवसरमा नगर प्रमुख श्रेष्ठले यसरी नै विभिन्न संघसंस्थाहरूसँगकै सहकार्य र सहयोगमा महामारी नियन्त्रणमा लिन सकिने विचार राख्नुभयो । महामारी नियन्त्रणका लागि सबै संघसंस्था र नागरिक समाजले हातेमालो गर्न श्रेष्ठले आह्वान गर्नुभयो ।

कार्यक्रममा मध्यपुर थिमि नगरपालिका वडा नं. ४ की वडा सदस्य रामकेशरी श्रेष्ठ, संस्थाकी उपाध्यक्ष सविना श्रेष्ठ र पत्रकारलगायतको उपस्थिति रहेको थियो ।

Categorized in समाज