मिटरव्याज विधेयक सर्वसम्मतले पारित
SamacharDesk | २०८० श्रावण १, सोमबार

प्रतिनिधि सभाबाट मिटरब्याज सम्बन्धी विधेयक पारित भएको छ ।
प्रतिनिधि सभाको हिजो बसेको बैठकबाट मुलुकीसंहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० संशोधन गर्ने क्रममा उक्त विधेयक पारित गरिएको हो ।
आईतवार बसेको प्रतिनिधि सभाको बैठकले मुलुकी संहीता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० प्रतिनिधि सभाले सर्वसम्मतिले पारित गरेको हो ।
राष्ट्रिय सभामा उत्पत्ति भएको मुलुकी संहीता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित गरियोस् भन्ने प्रस्ताव कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रस्तुत गर्नुभएको थियो ।
प्रस्तावमा प्रतिनिधिसभाका १४ जना सांसदहरुले संशोधन प्रस्ताव दर्ता गर्नुभएको थियो । सांसदहरुले दर्ता गराएको संशोधनमा मन्त्री गुरुङले प्रस्तावमा एकीकृत गरेर लैजाने प्रतिवद्धता जनाएपछि विधेयक सर्वसम्मतिले पारित भएको हो ।
यो विधेयक पारित भएसँगै अनुचित लेनदेनसँग सम्बन्धित कार्यमा कसुर लाग्नेछ । मिटरब्याज पीडतले आन्दोलन चर्काएपछि आन्दोलनरत पक्षसँगको सहमति अनुसार सरकारले यसअघि गत वैशाख २० गते पीडितलाई न्याय दिने भन्दै अध्यादेश ल्याएको थियो ।
उक्त अध्यादेशलाई प्रतिस्थापन गर्न असार ५ गते दर्ता भएको विधेयक असार १७ गते प्रतिनिधि सभामा पेस भएको थियो । गत असार २० गते नै विधेयक प्रस्तुत गर्ने तय भएकोमा प्रतिनिधिसभाको बैठक अवरुद्ध हुँदा अध्यादेश निष्क्रिय भएको थियो ।
अध्यादेश शून्यमा गएपछि हिजो केही नेपाल ऐन संशोधन प्रक्रिया मार्फत उक्त विधेयक पुनः पारित गरिएको हो । अब उक्त विधेयक प्रतिनिधि सभाबाट राष्ट्रिय सभामा पठाइने छ ।
राष्ट्रियसभाबाट पनि विधेयक पारित भई राष्ट्रपतिले प्रमाणीकरण गरेपछि मिटरब्याज सम्बन्धी कसुरमा कानुनी कारबाहीको बाटो खुल्ने छ ।
प्रतिनिधि सभाको अर्को बैठक मिति साउन १० गते बस्ने छ ।
Categorized in राजनीति